दुर्गाथली-६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।
बझाङ — बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्गाथली-६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ-७ की बिमला महत धामी रहेका छन् ।
दुर्घटनामा घाइतेमध्ये ८ जना सख्त घाइते छन् । जसमा दुई शिक्षक र एक पूर्ववडा सदस्य समेत छन् । सख्त घाइतेहरुमा जिप चालक देवबहादुर धामी, झल्कादेवी महत, जयमतीदेवी महत, हासुलीदेवी महत, शिक्षक रामबहादुर महत, हर्कादेवी महत, शिक्षक देवबहादुर जाग्री र पूर्ववडा सदस्य रामबहादुर महत रहेका छन् ।
सामान्य घाइते हुनेमा धनेशेर जाग्री, नवराज धामी, रमेश धामी र बिरु जाग्री रहेका छन् ।
प्रारम्भिक जानकारी अनुसार जिपमा चालकसहित १६ जना सवार रहेका थिए । दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य संचालन गरिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको केदारस्युँ गाउँपालिकाका विपद् फोकल पर्सन लेखराज रावलले बताए ।
प्रहरी टोली पनि घटनास्थल पुगेर उद्धार तथा घटनाबारे अनुसन्धानमा जुटेको छ । घाइतेहरुलाई थप उपचारका लागि सुविधायुक्त अस्पतालमा पुर्याउन हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् ।
![Bajhang Jeep Accident: 3 Dead, 12 Injured [Update]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/accident-bajhang-1172026022805-1000x0.jpg&w=1001&h=0)