गणेश नेपाली मृत्यु घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसनको माग

पेट्रोल छर्केर आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीसम्बन्धी घटनाका विषयमा छानबिन समिति गठन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै चालक फाउन्डेसनले विज्ञप्ति जारी गरेको छ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

Independent Drivers’ Foundation demands formation of a high-level committee to investigate the death of Ganesh Nepali

काठमाडौँ — राइड सेयरिङ प्लाटफर्मका चालक गणेश नेपालीको निधनको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न स्वतन्त्र चालक फाउन्डेसन नेपालले माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै फाउन्डेसनले नेपालीको निधनले सम्पूर्ण चालक समुदायलाई स्तब्ध बनाएको उल्लेख छ ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका मुगुका नेपालीको वीर अस्पतालको बर्न वार्डमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । 

सार्वजनिक रूपमा आएका जानकारी र विभिन्न पक्षले गरेका दाबीलाई उद्धृत गर्दै फाउन्डेसनले भनेको छ, ‘राइड गरिरहेका क्रममा महानगर प्रहरीद्वारा उहाँको मोटरसाइकलमा ह्विल लक लगाइएको र त्यसपछिको घटनाक्रममा टेजर प्रयोग भएको भन्दै विभिन्न प्रश्नहरू उठेका छन् । उक्त घटनापछि उहाँले आत्मदाहको प्रयास गर्नुभएको र उपचारको क्रममा उहाँको दुःखद निधन भएको बताइएको छ ।’

घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै फाउन्डेसनले दोषीउपर कडा कारबाहीको माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि अनुसन्धानबाट कुनै व्यक्ति वा निकायको लापरबाही, गैरजिम्मेवारी वा कानुनविपरीत कार्य भएको पुष्टि भएमा, प्रचलित कानुनबमोजिम निष्पक्ष र कडा कारबाही गरियोस् भन्ने हाम्रो स्पष्ट माग रहेको छ ।’

फाउन्डेसनले सम्पूर्ण चालक तथा सर्वसाधारणलाई संयमता अपनाउन, अपुष्ट सूचना वा अफवाह नफैलाउन र कानुनी एवं शान्तिपूर्ण माध्यमबाट न्यायको मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ । 

कान्तिपुर

Link copied successfully