चिकित्सकहरूका अनुसार नेपालमा विपद् तथा दुर्घटनापछि घाइतेको उद्धार तथा व्यवस्थापन गर्ने निकायहरूको कार्यशैलीमा खासै परिवर्तन आएको छैन ।
What you should know
काठमाडौँ — २४ माघ २०८१ मा कमलपोखरीस्थित सानदार म:म: पसलमा ग्यास सिलिन्डर विस्फोट भयो । त्यसक्रममा ११ जना कामदार घाइते भए । राजधानीको केन्द्रमा भएको उक्त घटनाका घाइतेलाई एम्बुलेन्सको साटो मासु बोक्ने ट्रकबाट अस्पताल पुर्याइएको थियो । कीर्तिपुर बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मी सम्झन्छन्, 'घटनास्थल वरपर रहेका मानिसको हात वा खल्तीमा मोबाइल थियो तर कसैले पनि एम्बुलेन्स सेवाका लागि १०२ मा फोन गरेनन् । बरु घाइतेहरूलाई मासु बोक्ने ट्रकमा राखेर अस्पताल ल्याइएको थियो ।'
कमलपोखरीकै जस्तो विपद उद्धारको घटना बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि देखिन्थ्यो । मोटरसाइकलमा ह्विललकको विषयमा मुगु सोरु गाउँपालिकाका–१ का २५ वर्षीय गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । शरीरका धेरै भाग जलेर बीच सडकमा छटपटाइरहेका गणेशलाई आगो निभाइसकेपछि सुरक्षाकर्मीहरूले हात समातेर सडकमा केही मिटर हिँडाएको र त्यसपछि सवारीसाधनमा राखेको भिडियोमा देखिन्छ ।
चिकित्सकहरूका अनुसार नेपालमा विपद् तथा दुर्घटनापछि घाइतेको उद्धार तथा व्यवस्थापन गर्ने निकायहरूको कार्यशैलीमा खासै परिवर्तन आएको छैन ।
बिहीबार आत्मदाह प्रयास गरेका राइड–सेयरिङ चालक गणेशको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । उनलाई उपचारमा संलग्न वीर अस्पतालका चिकित्सकहरूले बिहान ११:१९ बजे मृत्युको औपचारिक घोषणा गरेका थिए । 'घाउ निकै गहिरो थियो र शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो, त्यसैले बिरामीलाई बचाउन सकेनौं,' वीर अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी युनिटका प्रमुख डा.पीयूष दाहालले भने ।
बिरामीको अवस्था सुरुदेखि नै नाजुक थियो । स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले गणेशलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । क्रिटिकल केयर टोलीले शुक्रबार बिहानै बिरामीको कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएको थियो ।
गणेशले आत्मदाह गर्नुको कारण काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उनको मोटरसाइकलमा ह्विललक गर्नु रहेको बताइएको छ । निषेधित क्षेत्रमा मोटरसाइकल पार्क गरेको विषयमा नगर प्रहरीसँग उनको विवाद भएको भिडियो फुटेजमा देखिन्छ । भिडियोमा ह्विललक गरिएको मोटरसाइकल लिएर घटनास्थलबाट भाग्न खोजेको भन्दै एक नगर प्रहरी नेपालीलाई हप्काइरहेको सुनिन्छ ।
गणेशको मृत्यु घटनाबारे छानबिन, दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको दिन संसद्देखि सडकसम्म माग उठिरहेको छ । चौतर्फी दबाबपछि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा समिति पनि बनाइसकेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीआईजी थपलियाको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीलाई समेत समेटेर ५ सदस्यीय छानबिन समिति बनाइएको हो । समितिलाई नेपालीको मृत्युअघि भएका घटनाको अध्ययन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
शुक्रबार साँझसम्म उनका परिवारका सदस्यहरूले शव बुझ्न अस्वीकार गरेका थिए । उनीहरूले आफ्ना आफन्तलाई यस्तो कठोर चाल्न बाध्य बनाएको भन्दै राज्य संयन्त्रलाई दोष दिएका छन् ।
