जिल्ला प्रहरी परिसर, काठमाडौंमा बोलाएर उनीहरुसँग सोधपुछ भइरहेको एसपी पवनकुमार भट्टराईले बताए ।
काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे प्रहरीले तीन जना नगर प्रहरीका कर्मचारीमाथि सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा बोलाएर उनीहरुसँग सोधपुछ भइरहेको एसपी पवनकुमार भट्टराईले बताए । 'घटना के भएको हो भन्ने विषयमा विवरण लिइरहेका हौं, नियन्त्रणमा लिएका छैनौं', उनले कान्तिपुरसँग भने।
प्रहरीले ती कर्मचारीहरुको नाम खुलाएको छैन । नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार, नेपालीले राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए र त्यसमा महानगर प्रहरीले ह्विल लक लगाइदिएको थियो ।
आफ्नो बाइकमा ह्विल लक लगाएको भन्दै उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रहरीको भनाइ छ ।
