होल्डिङ सेन्टरबाट पनि सुकुमवासी विस्थापित, खातामा पैसा न खानाको टुंगो

सरकारले २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुमवासीलाई ‘अल्टिमेटम’ दिएको थियो, तर स्वव्यवस्थापनमा जाने पैसा दिइनसक्दै होल्डिङ सेन्टरमा दुई दिन खाना बन्द गरियो

असार २५, २०८३

समर्पण श्री

Even squatters displaced from the holding center, no certainty of money or food in their accounts

What you should know

काठमाडौँ —  विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो । यसबाट प्रभावित हुनेमध्ये एक थिइन्– कालीमाया परियार । बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उनले दुःखेसो पोखिन्, ‘खाना त के, जार सबै भित्र राखेर हामीलाई पानी पनि दिइएन । मान्छेले धर्म गर्न बाटो–बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो ।’ 

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ । ‘तर फेरि कहिलेदेखि खाना रोकिने हो, थाहा छैन,’ कालीमायाले भनिन् । स्वव्यवस्थापनका लागि सरकारले दिने भनेको २५ हजार रुपैयाँ पनि आफ्नो खातामा अझै नआएको उनले सुनाइन् । 

सरकारले ८ असारमा सूचना जारी गरेर विस्थापित सुकुमवासीको खातामा २५ हजार रुपैयाँ हालिदिने जानकारी दिँदै १२ असारभित्र होल्डिङ सेन्टर खाली गरी स्वव्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो । पछि अर्को सूचना निकालेर १९ असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेता गरियो । विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन् । सरकारले उनीहरूका लागि सोमबार साँझ र मंगलबार बिहानको खाना–खाजा बन्द गरेको थियो । 

मनोहराको घर भत्काएपछि कालीमायाको ८ जनाको परिवार बिचल्ली भएको हो । उनका दुई नातिलाई आफन्तको कोठामा राखिएको छ । खातामा पैसा नै आयो भने पनि २५ हजार रुपैयाँले परिवार व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ । ‘८ जनाको परिवार छ, २५ हजारले के गर्नु ! त्यति त कोठा भाडा नै लाग्छ । सामान पनि शून्यदेखि जोड्नुपर्‍यो । खाट, ओछ्यान केही पनि छैन । छोराको जागिर छैन । हात भाँच्चिएर बसेको छ,’ उनले भनिन् । 

तीन नातिनातिनाको पढाइ बिग्रिएको अर्को चिन्ताले कालीमायालाई पिरोलेको छ । उनका अनुसार पहिलेको स्कुलमा ४८ हजार रुपैयाँ तिर्न बाँकी थियो । अहिले पहिलो त्रैमासिक परीक्षाको बेला भएको छ । ‘तर नातिनातिनालाई स्कुल भर्ना गर्न पाएकी छैन । किताब पनि किन्न सकेकी छैन,’ उनले भनिन्, ‘२५ हजार त जिब्रोमा अमिलो चाटेजस्तै हुन्छ ।’ 

बर्खाका बेला घर भत्काएर आफूहरूलाई बिल्लीबाठ बनाएकामा कालीमायालाई चित्त दुखेको छ । ‘भत्काउनै थियो त छानबिन गरेर भत्काएको भए पनि हुन्थ्यो । यस्तो बर्खामा किराफट्यांग्राले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो,’ उनले सुस्केरा काढ्दै भनिन् । कालीमाया आफैं बिरामी छिन् । घर भत्किनु केही दिनअघि लडेर उनको शरीरमा समस्या भएको थियो । घर भत्केपछि उपचार झनै गर्न पाइनन् । उनी सिलाइ–बुनाइको काम गर्थिन् । भएको मेसिन पनि डोजरले पुरिदिएपछि हातै काटिदिएझैं भयो उनलाई ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरटहरा खाली गर्न निर्देशन दिँदै ११ वैशाखमा ६ बुँदे सूचना जारी गरेको थियो । त्यति बेला प्रमाणित भूमिहीनका लागि १० देखि १५ दिनभित्र उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको भनिएको थियो । तर अहिलेसम्म कसैको पनि स्थायी बसोबास तय भएको छैन ।‘न गाँस, न बास, रोजगार । सरकारले हामीलाई ठूलो बैगुन गर्‍यो,’ टिलपिलाएका आँखा पुछ्दै उनले भनिन् । ६५ वर्षीया सोविता राईको श्रीमान्, छोराबुहारी र नातिनातिनासहित ७ जनाको परिवार छ । उनको पनि उस्तै दुःखेसो छ, ‘यत्तिका छौं । कसरी व्यवस्थापन गर्ने ? ग्यास चुलोलगायतका सामान्य सामान थप्दैमा २५ हजार त सकिन्छ । त्यसमाथि कोठा भाडा महँगो छ ।’ सरकारले दिने भनिएको २५ हजार रुपैयाँ उनको खातामा पनि आएको छैन । 

सोविताको परिवार बल्खुमा बस्थ्यो । घर भत्काइएपछि खरिपाटीको होल्डिङ सेन्टर पुगेको हो । बुहारी र नातिनातिना आफन्तको शरणमा बसिरहेको सोविताले सुनाइन् । बुहारी सुत्केरी छिन् । उनका ८४ वर्षका श्रीमान् छन् । ‘हाम्रो त झन् बिजोक हुने भयो । यो व्यथा कसले सुन्ने होला !’ उनले भनिन् । दुई दिन खाना रोकिँदा ३० वर्षीया बबिता तामाङसँग पैसा थिएन । काखे छोरी र छोरा भोकै हुने पीरले उनलाई सताइरह्यो । ‘यहाँ चाउचाउ बाँडिएको थियो । त्यही खुवाएर चित्त बुझायौं,’ उनले भनिन् । 

खातामा पैसा नआएको विषयमा सोधखोज गर्दै जाँदा टोकन नम्बर नै गलत भएको बबिताले थाहा पाइन् । ‘अस्ति वैशाखमा घर भत्केको दिन रंगशाला गयौं । बूढाको नागरिकता हराएको थियो । मेरो नागरिकता थिएन । नाम र नम्बर छाडेर आएकी थिएँ । टोकन नम्बर अर्काको नाममा परेको रहेछ । यो महिना पैसा आएन भने कहिल्यै आउँदैन भन्ने सुन्छु,’ उनले भनिन् । बबिताको परिवार बल्खुमा बस्थ्यो । बबिता कार्टुन खोज्दै बेच्थिन् । श्रीमान् ज्यामी काम गर्थे । होल्डिङ सेन्टर आएदेखि उनको काम रोकियो । श्रीमान्को पनि कमाइ हुन सकिरहेको छैन । ‘छोराको घाँटीमा प्वाल परेको छ । ११ साउनमा अपरेसन छ,’ उनले भनिन् ।

६६ वर्षीया कुमारी राईको पनि पैसा आएको छैन । उनका छोरा बिरामी छन् । मनोहरा बस्तीमा हुँदा कुमारी क्याट्रिनमा भाँडा माझ्ने काम गर्थिन् । ‘अब त ठेकेदार नै कता पुगे ! काम पनि छैन । कसरी पालिने हो, थाहा छैन,’ उनले भनिन् ।

५० वर्षीया अञ्जु परियारको त नागरिकता पनि बनेको छैन । उनी बुधबार नागरिकताबारे बुझ्न जिल्ला प्रशासन कार्यालय काठमाडौं जाँदै थिइन् । ‘श्रीमान् बितिसके । उनको परिवारबाट पनि कसैले बनाइदिँदैन । माइतीमा आमा हुनुहुन्छ । आमाका नामबाट बनाउनै मिलेन । त्यही भएर मलाई त पैसा पनि आएको छैन,’ उनले भनिन् । खाना रोकिएको दिन आफूले दालमोठ, चिउरा खाएर रात कटाएको अञ्जुले सुनाइन् ।

सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुमवासी बस्ती खाली गराउने क्रममा विस्थापित भएका परिवारको अस्थायी बसोबासका लागि सात ठाउँमा होल्डिङ सेन्टर तोकेको थियो । ती होल्डिङ सेन्टरमा सुरुमा ३ सय ८८ परिवार थिए । 

बालाजुस्थित माछापोखरी लजमा ८७ परिवारका २ सय ९४, राधास्वामी आश्रम कीर्तिपुरमा ६५ परिवारका २ सय ७७ र भक्तपुर खरिपाटीस्थित विद्युत् तालिम केन्द्रमा ९९ घरका ३ सय ५५ जना बसेका थिए । भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्रमा २४ परिवारका १ सय १५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ परिवारका ८०, बनेपास्थित रेडक्रस भवनमा ४५ घरका १ सय ९५ र इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका १ सय ७२ जना थिए ।

Even squatters displaced from the holding center, no certainty of money or food in their accountsकतिपयले स्वव्यवस्थापन गरेर होल्डिङ सेन्टर छाडिसकेका छन् । सरकारको अल्टिमेटमपछि कतिपय परिवारले आफन्तको शरण लिएका छन् । केही परिवार भने सरकारले दिने भनेको पैसा नपाएर होल्डिङ सेन्टरमै छन् । सरकारले खातामा २५ हजार पठाए पनि बसोबासको व्यवस्थापन गर्न नसकेर होल्डिङ सेन्टरमै आश्रित परिवार पनि छन् । 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार मंगलबारबाट नगरकोटस्थित खानेपानी तालिम केन्द्र र भक्तपुर बोडेस्थित कृषि तालिम केन्द्र खाली भएका छन् । 

समितिका आयोजना प्रमुख महर्जनले होल्डिङ सेन्टरमा पैसा पाएकालाई सोमबार र मंगलबार आफूहरूले खाना रोकेको बताए । ‘पैसा नपाएकाहरूलाई खाना नरोक्नू भनेका थियौं । तर क्यान्टिनवालाले सबैलाई रोक्ने भन्ने बुझेर रोकेछन्,’ उनले भने, ‘हिजो (मंगलबार) हामी होल्डिङ सेन्टर गएका थियौं । व्यवस्थापन हुन बाँकीलाई केही दिन खाना खुवाउँछौं ।’

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार मंगलबारसम्म होल्डिङ सेन्टरमा रहेका ३ सय ६५ परिवारले पैसा पाएका छन् । ‘हिजोसम्म ६३ जनाले पाउन बाँकी थियो,’ उनले भने, ‘होल्डिङ सेन्टरबाहिर पनि ११ सय १५ जनाले पैसा पाइसकेका छन्,’ उनले भने । 

फाराम नै नभरेका र फाराम भरेकाहरूको पनि प्राविधिक गडबडीले कतिपयको पैसा रोकिएको समितिका आयोजना प्रमुख महर्जनले बताए । ‘कतिको भने नागरिकता नै बनेको छैन । नागरिकता नहुनेहरूलाई आफैं गाडी व्यवस्था गरेर हामीले सीडीओ कार्यालय पठायौं । जतिसक्दो छिटो नागरिकता बनाउन छलफल भइरहेको छ । उहाँहरूले पनि छिट्टै पैसा पाउनुहुन्छ,’ उनले भने । कान्तिपुरकर्मी बुधबार खरिपाटीस्थित होल्डिङ सेन्टर पुग्दा नागरिकताविहीन ११ जनाको टोली गाडीमा जिल्ला प्रशासन कार्यालय जाँदै थियो ।

 पैसा पाएर पनि स्वव्यवस्थापन गर्न नसक्ने परिवारका विषयमा आफूहरू संवेदनशील भएको महर्जनले बताए । ‘सुत्केरी, अपांगता भएका र अशक्तका हकमा हामीले सूची मागेका थियौं । सूची नआएपछि आफैं गएर विवरण बनाएका छौं । यस विषयमा पनि हामीले काम गर्दै छौं,’ उनले भने । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरटहरा खाली गर्न निर्देशन दिँदै ११ वैशाखमा ६ बुँदे सूचना जारी गरेको थियो । त्यति बेला प्रमाणित भूमिहीनका लागि १० देखि १५ दिनभित्र उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको भनिएको थियो । तर अहिलेसम्म कसैको पनि स्थायी बसोबास तय भएको छैन । यसबारे कान्तिपुरले प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफूहरूले केही बोल्न नमिल्ने बताए । 

प्रधानमन्त्री वालेन्द्र शाहले १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमै नखोज्न आग्रह गरेका थिए । उनले सुकुमवासीलाई जग्गा दिने र बसोबासको व्यवस्था गर्ने काम भइरहेकाले समय लाग्ने बताएका थिए । ‘जति समय लाग्छ, त्यो लाग्छ । हतार गरेर हुँदैन । ३५ वर्षमा नभएको चीज ३५ मिनेटमै नखोजौं । केही समय लाग्छ,’ उनले भनेका थिए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले गत १५ जेठमा संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताएका थिए । प्रतिनिधिसभामै गत ३ असारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई 

Even squatters displaced from the holding center, no certainty of money or food in their accountsलालपुर्जा वितरण गरिने बताएकी थिइन् । उनले आगामी आर्थिक वर्षको वार्षिक विनियोजित बजेट माथि सांसदहरूको जवाफ दिँदै सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी थिइन् ।

सरकारले भने तथ्यांक संकलन नै सकेको छैन । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख महर्जनका अनुसार अहिलेसम्म २ हजार ६ सय ८ सुकुमवासी परिवारमध्ये १ हजार ७ सय ३५ परिवारको तथ्यांक संकलन भएको छ । ‘यसमा तीनपुस्ते विवरण खुलाइएको हुन्छ । यो काम यो साताभित्र सकिन्छ । त्यसपछि भूमि मन्त्रालयले थप काम अगाडि बढाउँछ,’ उनले भने । 

महर्जनको भनाइअनुसार सबै प्रक्रिया सकेर छानबिनपछि लालपुर्जा वितरणको काम तीन महिनापछि सुरु हुन्छ । ‘त्यतिन्जेलसम्ममा लालपुर्जा वितरण हुने अनुमानले सरकारका तर्फबाट १५ हजारका दरले तीन महिनाको भाडा दिने भनिएको छ । त्यतिन्जेल पनि सकिएन भने सरकारले थप विकल्प सोच्छ,’ उनले भने ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद गौतम भने कहिलेसम्म लालपुर्जा दिने भनेर यकिन गर्न नसकिने बताउँछन् । ‘अहिले भूमि आयोग बनाएर काम भइरहेको छ । यो बिस्तारै हुने कुरा रहेछ । यति नै समय लाग्छ भनेर भन्न सकिन्न,’ उनले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully