टिकापुर अस्पतालका ल्याब र फिजियोथेरापी कर्मचारीबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी अनुसन्धान सुरु भएको छ।
कैलाली — टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।मंगलबार दिउँसो अस्पतालको प्रयोगशाला (ल्याब)मा कार्यरत उमेशप्रसाद बजगाई र फिजियोथेरापिस्ट अनिलकुमार तिवारीबीच हातपात भएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अस्पतालको सीसीटीभी फुटेजमा तिवारी दौडिएर आएर बजगाईँमाथि मुक्का प्रहार गरेको देखिन्छ।त्यसपछि बजगाईँले पनि प्रतिकार स्वरूप लात प्रहार गरेका छन्। केही बेरमै अन्य कर्मचारी आएर दुवैलाई छुटाएको भिडियोमा देखिन्छ।
अस्पतालका सूचना अधिकारी पदमराज भट्टले ल्याबमा भएको भनिएको अनियमितताका विषयमा बजगाईँ र तिवारीबीच लामो समयदेखि असहमति रहेको बताए।उनका अनुसार सोही विषयमा भएको विवाद मंगलबार हातपातको तहमा पुगेको हो ।'अनियमितताका विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो । हिजो त्यो हातपातमा परिणत भयो,' भट्टले भने, 'घटना प्रहरीसम्म पुगिसकेकाले यसबारे अहिले थप टिप्पणी गर्न मिल्दैन । अनुसन्धानपछि थप कुरा खुल्नेछ ।'
यता, इलाका प्रहरी कार्यालय टिकापुरले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ।कार्यालयका प्रमुख (डीएसपी) प्रकाश डाँगीका अनुसार घटनासम्बन्धी निवेदन दर्ता भइसकेको छ ।'भर्खरै निवेदन दर्ता भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सम्बन्धित कर्मचारीलाई बोलाएर दुवै पक्षसँग घटनाबारे बुझ्नेछौँ।अहिले नै विवादको यकिन कारण भन्न सकिने अवस्था छैन,' उनले भने ।
डीएसपी डाँगीका अनुसार ल्याबका कर्मचारी बजगाईँले तिवारीविरुद्ध निवेदन दिएका छन् । निवेदनमा आफूलाई बिनाकारण कुटपिट गरिएको उल्लेख गर्दै तिवारीमाथि कानुनी कारबाही गर्न माग गरिएको प्रहरीले जनाएको छ ।
