१० वर्षदेखि सञ्चालनमा रहेको भरतपुर अस्पतालको फार्मेसीमा 'सुलभ फार्मेसी'को बोर्ड झुन्ड्याइयो

६ कार्तिक २०७३ बाट सञ्चालनमा आएको अस्पताल फार्मेसीमा १६ असारदेखि नयाँ बोर्ड झुन्डिएको छ ।

असार २४, २०८३

रमेशकुमार पौडेल

A 'Sulabh Pharmacy' signboard has been hung at the pharmacy of Bharatpur Hospital, which has been in operation for 10 years

चितवन — भरतपुरको सरकारी अस्पतालले १० वर्षअघि आफ्नै अस्पताल फार्मेसी सुरू गरेको थियो । ६ कार्तिक २०७३ बाट सञ्चालनमा आएको अस्पताल फार्मेसीमा १६ असारदेखि नयाँ बोर्ड झुन्डिएको छ । सरकारको नीति अनुरूप अस्पताल फार्मेसीमा 'सुलभ फार्मेसी'को बोर्ड राखेको अस्पताल प्रशासनले जनाएको छ ।

'बजारमा पाइनेभन्दा सस्तो मूल्यमा गुणस्तरीय आौषधि उपलब्ध गराउने सरकारी नीतिअनुसर सुलभ फार्मेसी सञ्चालनमा आएको हो,' अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले भने । सुलभ फार्मेसीमा अस्पतालले खरिद गरेको मूल्यमा अधिकतम २० प्रतिशत मात्र जोडेर औषधि बिक्री गर्न पाइनेछ, यसअघि अलि फरक व्यवस्था थियो ।

पहिला खरिद मूल्य र औषधिमा उल्लेख अधिकतम खुद्रा मूल्य जोडेर त्यसलाई दुईले भाग गर्दा जति कायम हुन्छ त्यति मूल्य लिने गरेको डा. सापकोटाले बताए । यसबाट औषधि खरिद गर्न अस्पताल आएका बिरामीले बजारको भन्दा कम मूल्य तिरेका थिए । अस्पतालबाट फार्मेसीले केही आम्दानी गरेर अस्पताल सञ्चालनमा लगानी गरेको थियो ।अब पहिलाको जस्तो आम्दानी नहुने देखिएको छ ।

भरतपुर अस्पतालले फार्मेसीका लागि वर्षमा २० देखि २५ करोड रूपैयाँ हाराहारीमा औषधि खरिद गर्ने गरेको प्रवक्ता डा. रामप्रसाद सापकोटाले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully