बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
काठमाडौँ — सरकारले मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सुमनराज अर्याल ५८ वर्षे उमेरहदका कारण असार २५ देखि अवकासमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । उनी प्रधानमन्त्री कार्यालयमा शासकीय मामिला हेर्थे । प्रधानमन्त्री कार्यालयमा पुष्कर सापकोटा(कानुन), किरणराज शर्मा (विकास व्यवस्थापन) र खगेन्द्रप्रसाद नेपाल पनि सचिव रहेका छन् ।
चैत १३ गते वालेन्द्र शाहले प्रधानमन्त्री भएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूची बनाउन सचिव कार्कीकै प्रमुख भूमिका थियो ।
मुख्य सचिवमा नियुक्त भएका गोविन्दबहादुर कार्की भोजपुर जिल्लाका स्थायी बासिन्दा हुन् । २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका कार्की २०८१ भदौ २० गते सचिवमा बढुवा भएका थिए ।
२०७८ सालमै सचिव भएका १० जना त्यसपछि २०७९, ०८० र ०८१ मै कार्की अगाडि सचिव बढुवा भएकाहरूलाई छाडेर सरकारको चयनमा उनी परेका हुन् ।
