सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारले नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई पक्राउ गरिएको बताए । सर्लाहीको बलरा-५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंह भन्छन् : नेपालमा मल हाहाकार हुँदा बाध्य भएर उहाँहरू पारि जानु भएको हो । तस्कर होइन ।
What you should know
काठमाडौँ — भारतीय बजारबाट मल लिएर आउने क्रममा तस्करी गरेको भन्दै बिहार प्रहरीले २ नेपालीलाई पक्राउ गरेको छ । सर्लाही सदरमुकामनजिकको भारतीय बजार सोनवर्षाबाट रासायनिक मल लिएर आउने क्रममा २ नेपालीलाई भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले पक्राउ गरेर प्रहरीलाई बुझाएको हो । उनीहरू ६ दिनअघि पक्राउ परेका हुन् ।
सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारले नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई पक्राउ गरिएको बताए । इकान्तिपुरसँगको टेलिफोन कुराकानीमा इन्स्पेक्टर सिंहले भने, 'उनीहरूले गैरकानुनी रूपमा मल लिएर गइरहेका बेला एसएसबीले समातेर प्रहरीलाई बुझाएको हो ।' कुमारले उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको पनि बताए । उनका अनुसार सिंहद्वयले ८ बोरा मल नेपाल लैजाँदै थिए ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले उनीहरूलाई अदालतमा उपस्थित गराइएकोबारे आफूहरूलाई जानकारी आएको बताए । उनले उनीहरू दुवै जना छिट्टै धरौटीमा छुट्ने सम्भावना रहेको बताए । उनले भने, 'उता अदालती प्रक्रिया चलिरहेको छ । हामीलाई आएको जानकारीअनुसार उनीहरू धरौटीमा छुट्ने सम्भावना रहेको छ ।'
उनीहरू दुवै जना बलरा नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् । बलरा-५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहले घरायसी प्रयोजनका लागि उनीहरूले मल ल्याएको जानकारी आफूले थाहा पाएको बताए ।
उनले भने, 'म पनि काठमाडौंतिर गएको थिएँ । मलाई आएको जानकारीअनुसार उहाँहरू तस्कर होइन, आफ्नै खेतमा राख्नका लागि ल्याएको हो ।' वडाध्यक्ष सिंहले सरकारले किसानहरूलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू थुनिनु परेको बताए । उनले भने, 'मधेशमा त अहिले ठूलो समस्या छ । न पानी छ, न मल । गत वर्षजस्तै सुक्खा लाग्ने भयो ।'
