संघीय राजधानी काठमाडौंको यो चर्चित चोकले कतिपयलाई न्याय दिलाएको पनि छ भने कतिपय न्यायकै पर्खाइमा छन् ।
What you should know
काठमाडौँ — आजकल धर्ना र आन्दोलनको केन्द्र बनेको माइतीघर मण्डला सडकमा सुदूरपूर्वदेखि सुदूरपश्चिमका नागरिकहरूसम्म न्यायको याचना गर्दै पुग्छन् । केही दिनअघिसम्म ‘सुस्ता बचाउ अभियान’का अगुवाहरू दुःखेको मन लिएर माइतीघरमा उभिएका थिए । देशको सीमाका रक्षाकवचहरू नै ‘अनागरिक’ हुनुपर्दाको पीडा सुनाइरहेका थिए, ‘भूमि बचाउनेहरू नै भूमिविहीन भयौँ । नागरिकताविहीन भयौँ ।’
घर फर्किनेबेला झिनो आशासहित माइतीघरबाट ८३ वर्षीया नबीजाह खातुले आफ्नो चाहना सुनाएकी थिइन्, ‘मर्नुअघि नेपाली नागरिकता लिन पाऊँ ।’ सरकारले आश्वासन त दियो, तर उनीहरूको दुःखेको मनमा मल्हम लगाउँछ कि लगाउँदैन, प्रतीक्षाको विषय छ ।
असारमा कहिले रापिलो घाम त कहिले झरी सहँदै विस्थापित भूमिहीन सुकुमवासी पनि माइतीघरमै धर्ना बसेका थिए । काठमाडौंभित्र र बाहिरबाट न्यायको माग गर्दै उनीहरू यहाँसम्म आइपुगेका थिए । कहिले मिटरब्याजी पीडितहरू घण्टौँ पैदल हिँडेर माइतीघर आइपुग्छन् त कहिले खुलेआम हिँडिरहेका हत्यारालाई सजाय माग गर्दै रुबी खानहरू पटपटी फुटेको पैतालामा उभिन्छन् । जातीय विभेदले असहृय भएर ‘सरकार कोठा खाली छ ?’ भन्दै दीपा नेपालीहरू पनि माइतीघरमै प्रश्न गरिरहेका छन् ।
सडकमा धुप बेचेर वा गीत गाएर गुजारा चलाइरहेका दृष्टिविहीनहरूको रोजगारी सरकारले नै खोसेपछि अँध्यारो भविष्यको चिन्ता उनीहरूले माइतीघर सडकमै आएर पोखेका थिए । न्याय नपाएर माइतीरघर पुगेकाहरू के न्याय पाएरै फर्किन्छन् त ? नजिकै रहेका अदालत, संसद् भवन र सिंहदरबारले उनीहरूको आवाज सुन्छ होला त ?
अरू दिन जस्तै शुक्रबार पनि माइतीघर मण्डला आन्दोलित स्वर र वेचैन अनुहारले ढाकिएको थियो । ‘न्याय दे कि मृत्यु दे’जस्ता नारा लेखिएको पम्प्लेटसहित धर्नामा छिन् २८ वर्षीया मनिषकुमारी । बारा विश्रामपुर गाउँपालिकाकी स्थायी बासिन्दा उनी गत २८ जेठदेखि धर्ना बसेकी छन् । उनी लेखा अधिकृत हुन् । सहकर्मी पुरुष लेखा अधिकृतले आफूमाथि ब्ल्याकमेल गरेर मानसिक तनाव दिएको कुरा मनिषाले सुनाइन् । ‘जेठ ५ गतेको मुद्दा स्थगित भयो । असार १६ गते मेरो मुद्दा हेर्न नभ्याइनेमा पर्यो,’ उनले कारण सुनाइन्, ‘म लड्दालड्दै थाकेँ । फैसला छिटो होस् ।’
नजिकै हरियो टेन्टभित्र तीन महिने छोरालाई स्तनपान गराइरहेकी थिइन् शर्मिला शाही । टेन्टमाथि शिशुको कपडा सुकाइएको थियो । टन्टलापुर घामको कारण उनको अनुहारबाट पसिना बगिरहेको थियो । शर्मिला न्यायको आशमा माइतीघर बसेको २२ दिन भयो । भुपेन्द्र ठगुन्नाले बलात्कार गरेको उनको भनाइ छ ।
सुरुवाती दिनमा टिकटकबाट चिनजान भएको बनाउने शर्मिलालाई भुपेन्द्रले सुरुवाती दिनमा विवाहको आश्वासन दिएका थिए । ‘पेटमा बच्चा हुर्कंदै गर्दा ऊ अर्की महिला लिएर भारत भाग्यो,’ शर्मिलाले सुनाइन् । तीन महिनाअघि शर्मिलाले छोरालाई जन्म दिइन् । तर पनि पुरुषको पत्तो भएन । ‘९ दिनको सुत्केरी थिएँ । केटासँग लागेको भनेर मलाई आफन्तले पिटे,’ उनले रुँदै सुनाइन् । त्यसपछि उनी प्रहरी चौकीमा मुद्दा दर्ताका लागि गइन् । अहिले अदालतमा मुद्दा चलिरहेको छ ।
अर्को टेन्टमा पल्टिरहेकी थिइन्, देविका खनाल । उनीसँग दुःखका छुट्टै फेहरिस्त थिए । ‘एकल महिलालाई न्याय दे सरकार ?’ भन्दै भित्ता झुन्ड्याइरहेको पम्प्लेटको नाराबाट उनी न्यायको याचना गरिरहेकी थिइन् । सुनसरीकी २८ वर्षीया देविका एकल महिला हुन् । उनकी एक छोरी छिन् । एउटा कम्पनीमा काम गर्थिन् । त्यसकै पारिश्रमिकले छोरी पढाउँथिन् । कोठाभाडा तिर्थिन् ।
सामान्य चलिरहेको दैनिकीमा ०८१ फागुन २२ गते अचानक ब्रेक लाग्यो । त्यो दिन कामबाट फर्किने क्रममा इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाले चलाएको गाडीले उनी सवार बाइकलाई ठक्कर दियो । उनी घाइते भइन् । अचेत अवस्थामा उनलाई विराट नर्सिङ होम लगियो । देविकाको अहिले दुवै खुट्टा चल्दैनन् । उपचारमा लापर्बाही भएको आरोप छ उनको । अस्पतालमा डाक्टरले सुरुमा त धेरै दिन राख्नपर्ने बताएका थिए । ‘भित्र के चलखेल भयो थाहा छैन, तर अचानक भोलिपल्टै डिस्चार्ज गरिदियो,’ उनी सुनाउँछिन् । देविकाको अहिलेसम्म पाँच पटक शल्यक्रिया भइसक्यो । ‘खुट्टा नचलेर न कमाउन सकेको छु न छोरीका लागि केही गर्न नै,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा म के गरौँ ?’
धर्नामा आएपछि सुरुमा त उनलाई सरकारसँग आशा थियो । ‘सुधन गुरुङ गृहमन्त्री भएपछि मैले न्यायको आश गरेकी थिएँ । तर अहिलेसम्म पाइनँ,’ उनी भन्छिन् । अहिले उनको आम्दानी छैन, ऋणमात्रै थुप्रिएको छ । थप उपचार पनि गर्न सकेकी छैनन् । ७३ दिनदेखि उनी माइतीघरमा धर्नारत छिन् । १६ दिन त आमरण अनसन बसिन् । ‘तर जसले सुन्छन् भनेर आएँ, उनीहरूले नै नसुन्दा मन झन् बिथोलिएको छ,’ उनले वेचैन भावमा सुनाइन् ।
वादी समुदायलाई फिल्म ‘लालीबजार’मा गलत चित्रण गरिएको भन्दै दाङकी रोशनी वादी २५ दिनदेखि माइतीघरमा धर्नारत छिन् । ‘हाम्रो समुदायको आत्मसम्मानमा फिल्मले ठेस पुर्याएको छ । त्यसकारण धर्ना बसेकी हुँ,’ रोशनी सुनाउँछिन् । संघीय राजधानी काठमाडौंको यो चर्चित चोकले कतिपयलाई न्याय दिलाएको पनि छ भने कतिपय न्यायकै पर्खाइमा छन् ।
