कर्णालीका सबै पालिका र सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन र लागत अनुमान तयार गरी काम सुरु गरिने बताए ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

The road connecting all municipalities and district headquarters in Karnali will be made 'double lane' within three years.

काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् ।

मंंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिबद्धता जनाएका हुन् । कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ थियो । हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

‘हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ,' उनले भने, 'पहिचान भएका पहिरोहरूको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ ।’

उनले मुगुलगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

कान्तिपुर

Link copied successfully