साउथ एसियन स्टडिज एसोसिएसन अफ अस्ट्रेलिया र काठमाडौं विश्वविद्यालयको आयोजनामा भएको कार्यशालामा नेपाल, श्रीलंका र बंगालादेशका अनुसन्धानकर्मीहरूले विभिन्न कार्यपत्र प्रस्तुत गरे ।
What you should know
काठमाडौं — पछिल्ला वर्षहरुमा दक्षिण एसियामा भएका जेन-जी आन्दोलनका कारण, प्रवृत्ति र त्यसपछि विकसित घटनाक्रमबारे छलफल गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला आयोजना भएको छ । साउथ एसियन स्टडिज एसोसिएसन अफ अस्ट्रेलिया र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनमा सोमबार काठमाडौंमा भएको कार्यशालामा नेपालसहित श्रीलंका र बंगालादेशका अनुसन्धानकर्मीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।
श्रीलंकाकी अनुसन्धानकर्मी लुगारदिनी योगराजाले श्रीलंकामा जेन-जी विद्रोह कसरी भयो र त्यसमा कस्ता व्यक्ति समूहको सहभागिता थियो र यो विद्रोहपछि के भयो भन्नेबारे कार्यपत्र प्रस्तुत गरिन् ।अनुसन्धानकर्मी इन्द्र अधिकारीले भने नेपालको जेन-जी आन्दोलनमा सरकारको भूमिका के थियो भन्नेबारे कार्यपत्र प्रस्तुत गरिन् ।
स्कटल्याण्डको सेन्ट एन्ड्रयु विश्वविद्यालयका लेक्चरर केशव गिरीले भने दक्षिण एसिया र आसपासका अन्य देशहरुका पछिल्ला केही वर्षका भएका जेन-जी विद्रोहको पृष्ठभूमि के थियो र ती कसरी सम्पन्न भएका थिए भन्नेबारे तुलनात्मक अध्ययन गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए । काठमाडौं विश्विविद्यालयका अध्यापक सीपी अर्याल र इकान्तिपुर डटकमका सम्पादक एवं अनुसन्धानकर्मी जनकराज सापकोटाले नेपालमा भएको जेन-जी विद्रोह आकस्मिक घटना थियो वा समाजमा विद्यमान अव्यवस्था र विभेदको निरन्तरको परिणाम थियो भन्नेबारे जेन-जी आन्दोलनमा सहभागी मुख्य व्यक्तिहरुको पृष्ठभूमिको अध्ययनबाट प्राप्त निष्कर्षमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसका डिन उद्धव प्याकुरेलले भने नेपालको जेन–जी आन्दोलन, सामाजिक आन्दोलन र 'अन्तर्राष्ट्रिय भूमिका'सम्बन्धी भाष्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।ढाका विश्वविद्यालयका सह-प्राध्यापक मोस्तफा शफीले भने बंगालादेशमा भएको सत्ता पलट गर्ने विद्रोहमा अभिजात वर्गको भूमिका बारे अनुसन्धानपत्र पेस गरेका थिए । अनुसन्धानकर्मी नूतन शर्मा र सुप्रभा थापाले कार्यपत्रमा नेपालको जेन-जी आन्दोलनलाई लैंगिक दृष्टिकोणबाट हेर्ने प्रयास गरेका थिए। बंगालादेशकी अनुसन्धानकर्मी अन्यन्या शर्मा प्रोमाले बंगालादेशको गत वर्षको विद्रोहलाई लैंगिक दृष्टिकोणबाट गरिएको अनुसन्धानपत्र प्रस्तुत गरिन् ।
राजनीतिशास्त्री लोकराज बरालले कार्यशालामा कि नोट स्पिच दिएका थिए । उनले नेपालको जेन-जी विद्रोहको पृष्ठभूमि के थियो र यसबाट प्राप्त उपलब्धि कहाँ पुग्छ भन्नेबारे प्रश्न गरेका थिए ।
आयोजकका अनुसार दक्षिण एसियामा पछिल्ला वर्षहरूमा युवापुस्ताले नेतृत्व गरेका आन्दोलनको प्रकृति, लोकतन्त्र र शासन प्रणालीमा परेको प्रभाव तथा क्षेत्रीय अनुभवको आदान–प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।
