त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा सोमबार उनको निधन भएको हो ।
काठमाडौं — फोटो पत्रकार क्लबका संस्थापक सदस्य तथा अग्रज फोटो पत्रकार भास्वर ओझाको उपचारका क्रममा निधन भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा सोमबार उनको निधन भएको हो । उनको श्रीमती र एक छोरी छन् ।
ओझाले दुई दशकभन्दा बढी समय नेपाली फोटो पत्रकारितामा सक्रिय रही फोटो पत्रकारिता तथा फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । उनले समय राष्ट्रिय साप्ताहिक, नेपाल रिपब्लिक मिडियाअन्तर्गत नागरिक तथा रिपब्लिका दैनिक र कान्तिपुर पब्लिकेशन्सअन्तर्गत कान्तिपुर दैनिकमा फोटो पत्रकारका रूपमा काम गरेका थिए । पछिल्लो समयत उनी समय स्वतन्त्र (फ्रिलान्स ) फोटो पत्रकारितामा सक्रिय थिए ।
उनको निधनले नेपाली फोटो पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, निर्भीक तथा समर्पित फोटो पत्रकार गुमाएको फोटो पत्रकार क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, क्लबले एक सक्रिय, इमानदार र प्रेरणादायी संस्थापक सदस्य तथा अभिभावक गुमाएको जनाइएको छ ।
