सगरमाथामाथिको प्रेसरलाई हटाउन हामी प्रतिबद्ध छौँ : पर्यटनमन्त्री पौडेल
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको जानकारी गराएका हुन् ।
‘सगरमाथामाथिको प्रेसर बढी भयो, सगरमाथा चढ्नेहरूको भीडलाई नियन्त्रण नगर्दा यसको अस्तित्व नै संकटमा आउने कुरामा म पनि सहमत छु, यसका लागि मन्त्रालयले पर्यटनसम्बन्धी ऐन बन्दैछ, नियमावली, कार्यविधि बन्दैछन्, त्यसमा ७ हजारमाथिका हिमाल नचढीकन सगरमाथा चढ्न नपाउने प्रकारका प्रावधान अब हामीले बनाउँदैछौँ । हिमालको रोयल्टी बढाउनेतर्फ गैरकर राजस्व हिसाबले खासमा यो अर्थ मन्त्रालयले हेर्ने विषय हो । तथापि अर्थ मन्त्रालयसँग समन्वय गरेर आगामी दिनमा सगरमाथामाथिको प्रेसरलाई हटाउन हामी प्रतिबद्ध छौँ,’ उनले भने ।
