गोप्य अंग प्रदर्शन गरेको आरोपमा बैतडी पाटन नगरपालिका घर भई हाल ललितपुर महालक्ष्मी–२ बस्ने ५५ वर्षका सुरेन्द्र भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
What you should know
काठमाडौँ — सार्वजनिक स्थलमा युवतीलाई गोप्य अंग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति मिलेको छ । गोप्य अंग प्रदर्शन गरेको आरोपमा बैतडी पाटन नगरपालिका घर भई हाल ललितपुर महालक्ष्मी–२ बस्ने ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक स्थलमा ऋतु खनाललाई हिँडिरहेका बेला भट्टले आफ्नो गोप्य अंग देखाएका थिए । उक्त घटनाको भिडियो खनालले गत आइतबार बेलुका सामाजिक सञ्जाल टिकटक, इन्स्टाग्राम र फेसबुकमा अपलोड गरेकी थिइन् । त्यसपछि उक्त भिडियो एकाएक ‘भाइरल’ भएको थियो । भिडियोमा युवती हिँडेका बेलामा सुरेन्द्रले कपडा खोलेर यौन अंग देखाएको बताएकी छन् । यसपछि उनले उक्त व्यक्तिलाई भाग्न लाग्दा समातेर माफी माग्न लगाएकी थिइन् ।
भिडियो भाइरल भएपछि प्रहरी वृत्त सातदोबाटो ललितपुरको टोलीले भट्टराईलाई पक्राउ गरेको हो ।
प्रारम्भिक बयानमा भट्टराईले गल्ती स्वीकार गरेको जिल्ला प्रहरी परिसर ललिपुरका प्रवक्ता गौतम मिश्रले जनाए । ‘पीडितबाट सार्वजनिक ठाउँमा अश्लिलता प्रदर्शन गर्न नहुने भनी मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘आरोपीलाई ५ दिनका लागि थुनामा राख्न अनुमति मिलेको छ ।’ आरोपीले प्रारम्भिक बयानमा गल्ती स्वीकारेको मिश्रले बताए । साथै, उक्त व्यक्ति शिक्षा अधिकृत रहेको समेत मिश्रले जनाए । सामाजिक सञ्जालमा राखिएको भिडियो हेरेर नै अनुसन्धान गर्दै जाँदा आरोपीलाई पक्राउ गर्न सफल भएको उनले बताए ।
गृहमन्त्रीको ध्यानाकर्षण
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत उक्त घटनामा गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन् । उनले आरोपीलाई पक्राउ गरिएको ऋतुको साहसप्रति सम्मान व्यक्त गरेका छन् ।
पीडितले आफ्नो पीडा भन्नको लागि भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था चिन्ताजनक रहेको जनाएका छन् । ‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि स्वीकार्य छैन,’ उनले भनेका छन्, ‘पीडितले आफ्ना पीडा पृष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताको विषय हो ।’ हरेक पीडितलाई निर्धक्क आवाज उठाउन समेत उनले आग्रह गरेका छन् ।
‘म सबै यौन हिंसाका पीडितहरूलाई ढुक्क भएर आवाज उठाउन आग्रह गर्दछु । अब अन्याय सहेर बस्न पर्दैन,’ उनले भनेका छन् । साथै, उजुरी दर्ता गर्न कतै समस्या भएमा सिधै गृह मन्त्रालय वा जिल्ला प्रहरी परिसरमा सम्पर्क गर्नसमेत उनले अनुरोध गरेका छन् ।
