ढुंगाले हानेर साथीको हत्या 

बझाङको केदारस्युँ गाउँपालिकामा साथीहरूसँग मदिरा सेवन गर्ने क्रममा उत्पन्न विवादपछि ढुंगाले हानेर ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ।

असार २१, २०८३

वसन्तप्रताप सिंह

Murder of friend by throwing stones

बझाङ — सँगै बसेर मदिरा सेवन गरेका साथीहरूबीच उत्पन्न विवादले झगडाको रुप लिँदा बझाङमा एक जनाले ज्यान गुमाएका छन् । झगडामा केदारस्युँ गाउँपालिका–६, त्यडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराले ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

हत्या अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिए पनि उनीहरूको परिचय खुलाएको छैन । शुक्रबार राति उक्त घटना भए पनि शनिबार मात्रै बोहराको शव गाउँनजिकैको मकै बारीमा भेटिएको थियो । 

‘तीन जनासँगै बसेर मदिरा सेवन गरेपछि घर फर्किँदै गर्दा सामान्य विवाद भएको र एक जनाले ढुंगाले हानेको रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘गहिरो चोट लागेर ढलेको देखेपछि दुई जना मिलेर हत्या गरेको र शव व्यवस्थापन गरेको देखिन्छ,’ उनले मृतक र अपराधमा संलग्न एउटै गाउँका भए पनि उनीहरूबीच कुनै पनि रिसइबी नभइ मदिराका कारण मात्रै हत्या भएको अनुसन्धानका क्रममा पत्ता लागेको बताए । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी टेक जोराले हत्यामा संलग्ने आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको बताए । ‘अभियुक्त को हो ? भन्ने कुरा करिब करिब पत्ता लागि सकेको छ । छिट्टै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी भैरहेको छ,’ उनले भने ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully