बालगृहलाई बालमैत्री बनाउन मन्त्री बादीको निर्देशन

मन्त्री सीता बादीले नुवाकोटको बाल सुधार गृहमा बालबालिकाको अवस्था, सेवा र पूर्वाधारको निरीक्षण गर्दै सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइन्।

असार २१, २०८३

कान्तिपुर संवाददाता

Minister Badi directs to make orphanages child-friendly

काठमाडौँ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् । 

अनुगमनका क्रममा उनले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरिन् । 

मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग संवादका क्रममा बालबालिकाले आफूहरूलाई प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, विज्ञान तथा प्रविधि सूचना प्रविधि, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमसँग जोड्नुपर्ने लगायतका धारणा राखेका थिए ।

निरीक्षणका क्रममा मन्त्री बादीले बाल सुधार गृहको सञ्चालनमा देखिएका आवश्यकता तथा चुनौतीहरूको समीक्षा गर्दै सुधार गृहसम्म पुग्ने सडकको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि आवश्यक बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायतका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।  

उनले बालबालिकाको सर्वोत्तम हित, अधिकार संरक्षण तथा प्रभावकारी पुनर्स्थापनालाई सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै बाल सुधार गृहलाई अझ सुरक्षित, बालमैत्री, व्यवस्थित तथा प्रभावकारी बनाउन मन्त्रालय आवश्यक समन्वय र पहल गर्न प्रतिबद्ध रहेको बताइन् । 

कान्तिपुर

Link copied successfully