भारतमा मोटरसाइकललाई कारले ठक्कर दिँदा दुई नेपालीको मृत्यु 

मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का विशाल चँदारो र सोही नगरपालिका-९ का कमल खड्का रहेका छन् ।

असार २०, २०८३

भवानी भट्ट

Two Nepalis die after car hits motorcycle in India

कञ्चनपुर — भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लाअन्तर्गत नानकमाता नजिकै दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ का विशाल चँदारो र सोही नगरपालिका-९ का कमल खड्का रहेका छन् । 

शुक्रबार बिहान दिल्लीबाट मोटरसाइकलमा घर फर्किरहेका उनीहरुलाई कारले ठक्कर दिएको हो । उनीहरु दुवै जना दिल्लीमा काम गर्थे । शुक्रबार बिहान एउटै मोटरसाइकलमा घर फर्किरहेका थिए । 

वडा नं ९ का वडाध्यक्ष गोपीलाल कँडेलका अनुसार भारतीय नम्बरकै ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको हो । उनका अनुसार नानकमातामै रहेको स्वास्थ्य चौकीमा पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरेका थिए । 

‘मोटरसाइकल र ट्याक्सी दुवै जलेर ध्वस्त भएका छन्,’ कॅडेलले भने, ‘धेरै स्पिडमा भएको हुन सक्ने अनुमान गरिएको छ ।’ उनका अनुसार दुवैको शव पोस्टमार्टमपछि शनिबार घर ल्याइएको छ । आइतबार महाकाली नदीमा अन्तिम संस्कार गरिनेछ । 

नानकमातामै ट्याक्सी चालकका नाममा जाहेरी दिएको कँडेलले बताए । उनी आफै नानकमाता पुगेका थिए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully