बुटवल-नारायणगढ सडकमा बाँदरका लागि बन्यो झोलु‌ंगे पुल

बाँदरलगायतका वन्यजन्तुको आवतजावत सहज बनाउन र जैविक विविधता संरक्षणका लागि बुटवल-नारायणगढ सडकको गैंडाकोट पितौजी जंगलमा ३४ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ।

असार २०, २०८३

नवीन पौडेल

Suspension bridge built for monkeys on Butwal-Narayangadh road

नवलपुर — बुटवल-नारायणगढ सडक बिस्तार आयोजनाले बाँदरलाई राजमार्ग पार गर्न सहज बनाउन झोलुंगे पुल निर्माण गरेको छ ।

आयोजनाको जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिका पितौजी जंगलमा सडकमाथि ३४ मिटर लामो र ४ फिट चौडाइको ओभरहेड क्यानोपी पुल निर्माण गरिएको  हो । यो पुलले वन्यजन्तु, विशेषगरी बाँदरलाई व्यस्त सडकमा सुरक्षित तवरले पार गर्न सहयोग पुग्ने आयोजनाका अधिकारीहरुको दाबी छ ।

सडक विस्तारसँगै वन्यजन्तुको आवतजावत प्रभावित हुने तथा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले यो पुल निर्माण गरिएको नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।पितौजीमा निर्माण गरिएको यो पुलको उपयोगिता हेरेर जंगल क्षेत्रमा थप पुल निर्माण गरिने उनले बताए ।

उनका अनुसार वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण, वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरण तथा सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउने प्रयास गरिएको हो । आयोजनाले जैविक विविधता संरक्षणका लागि जंगलभित्र पोखरी निर्माण गर्ने, चोरीसिकारी नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने काम गरेको सूचना अधिकारी खनालले बताए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully