कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीमा कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ गएको हो ।

असार २०, २०८३

इकान्तिपुर डेस्क

A team with sonar cameras and magnets was sent from Kurintar to search for missing vehicles and passengers in Karnali.

काठमाडौँ — दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेटाडास्थित कर्णाली राजमार्गमा भएको दुर्घटनामा बेपत्ता गाडी तथा यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट समेत गोताखोर टोली खटिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ गएको हो । टोली आज असार २० गते घटनास्थल पुगेर उपकरणसहित खोजीकार्यमा जुट्नेछ ।

सो टोलीले पानीमुनि तथा पानीको भेलमा खोजी गर्न प्रयोग हुने सोनार क्यामरा, म्याग्नेट लगायतका उपकरण लिएर गएको छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुर्घटनाको खबर पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा थप मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो ।

सोही दिन दुर्घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको थियो । गाडी र अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

इकान्तिपुर

Link copied successfully