गाडी दुर्घटनामा परी कालीकोटकी सिर्जना खड्कासहित छ जना बेपत्ता भएका छन् भने एकको शव भीरमा अड्किएको अवस्थामा फेला परेको छ।
What you should know
कालीकोट — रास्कोट–२ सिप्खानाकी १९ वर्षीया सिर्जना खड्का नेपाली सेनामा भर्ना हुने रहरले एक महिनादेखि सुर्खेतमा बसिरहेकी थिइन् । गएको वैशाखमा कक्षा १२ को परीक्षा दिएर नेपाली सेनामा भर्नाको तयारी गर्न एक महिनाअघि सुर्खेत झरेकी सिर्जना रोपाइँमा आमाबुवालाई सघाउन बिहीबार बिहान घर जान गाडी चढिन् ।
बिहीबार बिहान ७ बजे सुर्खेत बसपार्कबाट गाडी चढेकी उनी कर्णालीको भेलमा गाडीसँगै हराएकी छिन् । सुर्खेतबाट दैलेख जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको पल्ताडानजिक चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सागेंताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको हो ।
यसैवर्ष कक्षा १२ पास गरेकी सिर्जनाले नेपाली सेनाको जवानका लागि फारम भरेर बेरिङ पास गरेकी थिइन् । यसै वर्ष एसईई गरेर कक्षा ११ पढ्न गएकी बहिनी सम्झना र कक्षा ४ मा पढ्ने भाइ खिलाराजलाई कोठामै छाडेर खेत रोपेर फर्किन्छु भनेर कालीकोट हिँडेकी उनी घर नपुग्दै कर्णालीको भेलमा हराइन् । ‘बिहान हिँड्ने बेला फोन गरेर बेलुकी पुग्छु भनेकी थिइ । घर नपुग्दै बाटोबाटै कर्णाली नदीमा हराइन्,’ बुवा धनबहादुरले भने ।
छोरी चढेको गाडी कर्णालीमा बेपत्ता भएको खबर सुनेर सिर्जनाका बुवा धनबहादुर, आमा पान्सरा र सुवास, कुलबहादुर, चरित्रसहितका आफन्तहरु बिहीबार बेलुकी रास्कोटबाट सागेंताडा पुगेका छन् । ‘दुई दिन भइसक्यो केही अत्तोपत्तो छैन,’ दुर्घटनास्थलमै पुगेका रास्कोट–२ का सुवास खड्काले भने, ‘भीरबाट खसेको गाडी कर्णालीको भेलले कता पुर्यायो, अत्तोपत्तो छैन ।’ उनले सशस्त्र प्रहरीको गोताखोर टोलीले नदी छेउछाउ खोजी गरिरहे पनि बेपत्ता यात्रु र गाडीको अत्तोपत्तो नभएको सुनाए । गाडी सडकबाट ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।
गाडीमा कति यात्रु सवार थिए ? भन्ने एकिन नभए पनि ५ जना सुर्खेतबाट आएको र २ जना तल्लो डुंगेश्वरबाट चढेको दैलेख प्रहरीको अनुमान छ । दैलेख प्रहरीका अनुसार बुलबुले यातायात प्रालिमा दर्ता रहेको फोर्स गाडीमा सुर्खेतबाट आएका ५ यात्रु तथा चालक र सहचालक गरी ७ जनालाई पाल्ताडास्थित रारा होटलमा खाना पकाउन गाडी साहु तथा चालक तुलाराम सुवेदीले फोन गरेका थिए । गाडीमा उनका दाइ रामु सुवेदी सहचालकको रुपमा थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा कालीकोटको पचालझरना–९ तिखाती गाउँका जोखे तिरुवाको भीरमा अड्किएको अवस्थामा बिहीबार प्रहरीले उद्धार गरेर ल्याउने क्रममा निधन भएको थियो । जोखेसँगै सुर्खेतबाट गाडी चढेका पचालझरना–९ का मेगे तिरुवा, कालिकोट रास्कोट–२ की १९ वर्षीया सिर्जना खड्का, गाडी चालक तथा साहु २८ वर्षीय तुलाराम सुवेदी, सहचालक उनका दाइ रामु सुवेदी छन् ।
तल्लो डुंगेश्वर भन्ने ठाउँबाट थप दुई जना चढेकाे भनिए पनि उनीहरु को हुन् भन्ने खुलेको छैन । चालकले पाल्ताडास्थित रारा होटेलमा ७ जनालाई खानाको अर्डर गरेकाे खुलेको छ । डीएसपी श्रवण विश्वकर्माले गाडीमा रहेका पाँच जनाको विवरण खुले पनि अन्य कति थिए भन्ने एकिन हुन नसकेको बताए ।
नदी धमिलो र बहाव धेरै भएकाले खोजी कार्यमा कठिनाई भइरहेको दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विश्वकर्माले बताए । ‘गोताखोरसहितको टोली नदीमै छ । गाडी र यात्रुको अवस्थाबारे शुक्रबार दिउँसोसम्म केही पत्ता लगाउन सकिएको छैन,’ उनले भने ।
कालीकोटको रास्कोट नगरपालिकाले गाडी दुर्घटना भएको दुई दिनसम्म पनि यात्रुको संख्या र गाडीको अवस्था जानकारी हुन नसक्नु दुःख भएको जनाउँदै खोजी कार्यमा जुट्न सबै सरोकारवालालाई अनुरोध गरेको छ ।
