दैलेख दुर्घटनाः कर्णालीमा खसेको गाडी खोज्दै गोताखोर, मृतकको पहिचान खुल्यो, अन्य यात्रु अझै बेपत्ता

कर्णाली नदीको गहिरो र धमिलो पानीमा खसेको गाडी अझै भेटिएको छैन, उद्धारकर्मीहरू जोखिम मोलेर खोजी कार्यमा जुटिरहेका छन् ।

असार १९, २०८३

कृष्णप्रसाद गौतम, ज्योति कटुवाल

What you should know

सुर्खेत — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा (चिसापानी)मा बिहीबार भएको दुर्घटनामा परेको गाडी अझै नभेटिएपछि शुक्रबार बिहानैदेखि गोताखोर र सुरक्षाकर्मीको टोली कर्णाली नदीमा खटिएको छ । 

बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतको वीरेन्द्रनगरबाट कालीकोटको रास्कोट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको थियो । बिहीबार साँझ अबेरसम्म खोज्दा पनि गाडी भेटिएको थिएन ।  

दुर्घटनामा परी मृत्यु भएका एक जनाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालीकोटको पचालझरना गाउँपालिका–९ का जेखे तिरुवाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको थियो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले अप्ठ्यारो भूगोल र नदीमा डुबेको गाडी नदेखिँदा उद्धारमा समस्या भएको बताए । उनका अनुसार उद्धारका लागि जिल्ला प्रहरी र आसपासका प्रहरी इकाईबाट झण्डै एक सय जना प्रहरी खटिएका छन् । 

सुर्खेतबाट बिहीबार बिहान ८ बजे छुटेको बुलबुले यातायात प्रालिको गाडीमा सुर्खेत बसपार्कबाट ५ जना चढेका थिए । बाटोमा पनि केही यात्रु थपिएको हुनसक्ने उनको भनाइ छ । 

नदीमा खसेको गाडी खोज्न सशस्त्र प्रहरीको महेश्वरी बाहिनीबाट ७ जना गोताखोरको टोली खटिएको छ । ‘पानी पुरै धमिलो छ, गाडी खसेको भीर पनि अप्ठ्यारो, गाडी ४/५ बल्ड्याङ खाएर नदीमा खसेको देखियो,’ घटनास्थल पुगेर फर्किएका सशस्त्र प्रहरीका डीआइजी कृष्णराज पाठकले भने, ‘भीरमा डोरी लगाएर मात्र नदीमा पस्न सकिन्छ, सबैतिरको पानी गाडी खसेको ठाउँनिरै पानीको गहिराइ पनि बढी छ, त्यसमा पानीको प्रवाह अत्यधिक हुँदा उद्धारमा कठिनाइ भयो ।’ उनले गाडी बगेको आशंकामा खसेको भनिएको ठाउँभन्दा ५/६ किलोमिटर तलसम्म पनि सुरक्षाकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । 

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुर्घटनाग्रस्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको र गाडीसँगै अन्य यात्रुहरू अझै फेला नपरेको बताए। उनका अनुसार सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। दुर्घटनास्थलबाट हालसम्म पाँच वटा मोबाइल फोन र एउटा नागरिकता बरामद भएको प्रमुख जिल्ला अधिकारी सारुले जानकारी दिए। बरामद सामग्रीका आधारमा अन्य यात्रुको पहिचान गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully