शुक्रबार बसेको संवैधानिक परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
काठमाडौं — प्रमुख निर्वाचन आयुक्त नियुक्ति सिफारिसमा प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएका छन् । संवैधानिक परिषद्का सदस्य समेत रहेका आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाएका हुन् ।
परिषद्को शुक्रबारको बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने मत राखेको उनले बताएका छन् । शुक्रबार बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
