लप्चीपारि ड्रोन उडाउने २ नेपालीलाई चीनले तिरायो प्रतिव्यक्ति १ हजार युआन

उनीहरूलाई सीमा उल्लंघन गरेको भन्दै चिनियाँ प्रशासनले प्रतिव्यक्ति १ हजार युआन (करिब २२ हजार ४ सय रुपैयाँ) जरिवाना गरेको छ ।

असार १९, २०८३

अनिश तिवारी

China pays 1,000 yuan each to 2 Nepalis who flew drones across Lapchi

What you should know

सिन्धुपाल्चोक — नेपाल-चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका दुई नेपाली युवा शुक्रबार रिहा भएका छन् । उनीहरूलाई सीमा उल्लंघन गरेको भन्दै चिनियाँ प्रशासनले प्रतिव्यक्ति १ हजार युआन (करिब २२ हजार ४ सय रुपैयाँ) जरिवाना गरेको छ ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट (बीओपी) तातोपानीका अनुसार सीमा पार गरेको कसुरमा चिनियाँ प्रशासनले न्यूनतम जरिवाना तिराएर दुवै युवालाई रिहा गरेको हो । 'त्यसमा जरिवाना मात्रै छैन् , मेडिकल टेस्ट,उपचार खर्च सहित अन्य विषयलाई लिएर नै तिराइएको हो ,'उनले भने ।

शुक्रबार चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना, सशस्त्र प्रहरीको बीओपी तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेल तथा अन्य नेपाली प्रशासनिक प्रतिनिधिको जिम्मा लगाएका थिए ।

अध्यागमन कार्यालय प्रमुख तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको हो । 'बिहीबार नै रिहा गर्ने भनिएको थियो । तर प्रक्रिया पूरा हुन बाँकी रहेकाले शुक्रबार जिम्मा लगाइयो । अब आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइन्छ,' उनले भने । उनका अनुसार युवाका परिवारसँग यसअघि नै सम्पर्क भइसकेको थियो । नेपाली पक्षले औपचारिक पत्राचारमार्फत रिहाइको अनुरोध गरेपछि चिनियाँ पक्षले सोधपुछ र कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई रिहा गरेको हो ।

काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगर लप्ची घुम्न गएका बेला सीमा क्षेत्रमा ड्रोन उडाएका थिए । ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरूलाई चीनको न्यालम काउन्टीमा राखिएको थियो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully