लप्ची सीमावर्ती क्षेत्रमा ड्रोन उडाउँदा पक्राउ परेका दुई नेपाली युवा कानुनी प्रक्रिया र पत्राचारपछि सकुशल स्वदेश फर्काइएका छन्।
What you should know
सिन्धुपाल्चोक — नेपाल–चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा शुक्रबार रिहा भएका छन्।
चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई शुक्रबार तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी) तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेलसहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएका हुन्।
अध्यागमन कार्यालय प्रमुख तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको हो। 'बिहीबार नै रिहा गर्ने भनिएको थियो। प्रक्रिया पूरा हुन बाँकी रहेकाले शुक्रबार जिम्मा लगाइएको हो। अब आवश्यक प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइन्छ,' उनले भने।
उनका अनुसार ती युवाका परिवारसँग यसअघि नै सम्पर्क भइसकेको थियो। नेपाली पक्षले औपचारिक पत्राचारमार्फत रिहाइको अनुरोध गरेपछि चिनियाँ पक्षले सोधपुछ र कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरेको हो। 'ड्रोनमार्फत चिनियाँ भूभागका गतिविधि कसैको निर्देशनमा खिचिएको हो कि भन्ने चिनियाँ पक्षको आशंका देखिएको थियो। त्यसबारे आवश्यक समन्वय र पत्राचार हामीले गरेका थियौं,' तिमल्सिनाले भने ।
काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगर लप्ची घुम्न गएका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो। उनीहरूलाई नियन्त्रणपछि चीनको न्यालम काउन्टीमा राखिएको थियो। 'दुवै युवाको अवस्था सामान्य र सुरक्षित छ,' तिमल्सिनाले भने।
नेपाल–चीन सीमाक्षेत्रमा पछिल्लो समय आवतजावत बढेसँगै चिनियाँ पक्षले सुरक्षा निगरानी पनि कडा बनाएको छ।
