एभिन्युज, न्युज २४, ग्यालेक्सी र बीबीसी नेपालीमा काम गरेका रावलले गोरखापत्र संस्थानको नेतृत्व गर्न नियुक्ति पाएका छन् ।
काठमाडौँ — सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।
यसअघि सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएकामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । महाप्रबन्धकमा नियुक्त रावलले लामो समय एभिन्युज टेलिभिजनको सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा काम गरे ।
त्यसपछि न्युज २४ टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरत थिए । त्यसपछि उनी केही समय ग्यालेक्सी टेलिभिजनमा काम गरे । पछिल्लो समय उनी बीबीसी नेपालीसमेत आबद्ध थिए ।
सूचना तथा सञ्चार मन्त्रालयले १० जनाको अल्पसूचीमा रावलसँगै नारायणप्रसाद सापकोटा, भेषराज पाण्डे, राजन नेपाल, रामचन्द्र अर्याल, रुद्रबहादुर खड्का, लक्ष्मण कार्की, विश्वराज खनाल, शान्तराम विडारी र शिवकुमार भट्टराईको नाम समावेश थियो ।
