सेनामातहत परिचालन हुने जनशक्ति निर्माणको तयारी

राष्ट्रिय आवश्यकताका आधारमा नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सकिने व्यवस्थासहितको राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक संसद्‍मा दर्ता

असार १८, २०८३

राजेश मिश्र

Preparations for building manpower to be mobilized under the army

What you should know

काठमाडौँ — विशेष परिस्थितिमा नेपाली सेनामातहत रहेर परिचालन हुन सक्ने जनशक्ति तयार पार्न सरकारले विधेयक ल्याएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी वा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सकिने व्यवस्था गरिएको राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक संसद्मा दर्ता गरिएको छ ।

रक्षा मन्त्रालयले तयार पारेको विधेयक प्रतिनिधिसभामा लगिएको हो । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट दर्ता गरिएको विधेयकमा विशेष परिस्थिति र युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने व्यवस्था छ । नेपाली सेना, अन्य सुरक्षा निकाय, नेपाल सरकारका विभिन्न सेवाका लागि राष्ट्रिय भावनाले ओतप्रोत उच्च मनोबलसहितको मानव स्रोत तयार गर्ने लक्ष्य विधेयकले राखेको छ ।

विद्यार्थीलाई अनुशासित, इमानदार, स्वाभिमानी बनाउँदै राष्ट्रप्रेम, जनताप्रति सेवाभाव तथा राष्ट्रिय एकताको भावना जागृत गराउने र नेतृत्व क्षमताको विकास गराउने सेवा दलको उद्देश्य रहने विधेयकमा उल्लेख छ । विकास निर्माणमा सहयोग पुर्‍याउनेदेखि विशेष परिस्थितिमा स्वयंसेवकका रूपमा तोकिएबमोजिम परिचालन हुन सक्ने जनशक्ति तयार पार्ने जिम्मेवारी सेवा दलको रहनेछ ।

विधेयकको उद्देश्य र कारणमा भनिएको छ, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले प्रस्तुत विधेयक संघीय संसद्मा पेस गर्नुपरेको हो ।’

विधेयक ल्याउनुको संवैधानिक कारण पनि देखाइएको छ । संविधानको धारा ५१ को खण्ड क (६) मा ‘राष्ट्रिय आवश्यकताअनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने’ लेखिएको छ । संविधानको त्यही व्यवस्थालाई सम्बोधन गर्न नयाँ ऐन तर्जुमा गर्नुपरेको विधेयकमा उल्लेख छ ।

२०२७ मा बनाइएको राष्ट्रिय सेवा दल ऐनलाई प्रतिस्थापन (खारेजी) गर्न सरकारले विधेयक ल्याएको हो । प्रचलित ऐनमा सेनामातहत रही परिचालन हुन सक्ने जनशक्तिको निर्माण वा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सकिने प्रावधान छैन । युवालाई अनुशासित बनाउने र राज्यप्रति उत्तरदायी बनाउने उद्देश्य ऐनले राखेको छ । राष्ट्रिय सेवा दल ऐन जारी भएपछि विश्वविद्यालय र विद्यालय तहका युवालाई तालिम दिन थालिएको थियो ।

प्रस्तावित ऐनमा आधारभूत वा माध्यमिक शिक्षामा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिने भनिएको छ । विद्यार्थीलाई तालिमका विषय विद्यमान ऐनकै निरन्तरता रहेको कानुन मन्त्रालयका एक अधिकारीले बताए । तर तालिम प्राप्त विद्यार्थी वा जुनसुकै नेपाली नागरिकलाई विशेष परिस्थितिमा नेपाली सेनामातहत परिचालन गर्न सकिनेजस्ता विषय भने नयाँ रहेको उनले उल्लेख गरे ।

कतिपय विषय संविधानमै उल्लिखित रहेकाले त्यसलाई कार्यान्वयन गर्न पनि कानुनको आवश्यकता महसुस भएरै रक्षा मन्त्रालयबाट यो आएको हुन सक्ने ती अधिकारीले बताए । ‘विधेयकको तर्जुमा रक्षा मन्त्रालयले गरेको हो,’ उनले भने, ‘हामीले त्यसको कानुनी पाटो मात्रै हेर्ने हो । केही विषय मिलेको छैन भनेर सुझावसम्म दिएका हौं । केही सच्याइएको पनि छ ।’ जुनसुकै नागरिकलाई तालिम दिएर सेनामातहत परिचालन गर्न मिल्ने हो त भन्ने जिज्ञासामा उनले यसबारे थप बहस संसद्मा होला भन्दै औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

संविधान निर्माणका बेला तत्कालीन माओवादीले १८ वर्ष पुगेका हरेक युवाले अनिवार्य सैन्य तालिम लिनुपर्ने प्रावधान संविधानमा राख्न प्रस्ताव गरेको थियो । अन्य दल त्यसमा सहमत भएनन् । तर, कैयौं चरणको छलफलपछि नागरिकको कर्तव्यमा राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नुपर्ने संविधानमा लेखियो । राज्यका नीतिमा राष्ट्रिय आवश्यकताअनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने पनि लेखिएको थियो ।

राष्ट्रिय सेवा दलको तालिम सेनाका अधिकारीहरूले दिने विधेयकमा उल्लेख छ । सेवा दलको महानिर्देशक प्रधानसेनापतिको सिफारिसमा अवकाशप्राप्त उपरथीमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सेवा दलको तालिमका लागि आवश्यक पर्ने प्रशिक्षक नेपाली सेनाले बहालवाला सैनिकबाट खटाउने पनि विधेयकमा भनिएको छ । प्रधानमन्त्री सेवा दलको प्रमुख संरक्षक र रक्षामन्त्री संरक्षक रहनेसमेत त्यसमा उल्लेख छ ।

विधेयकको दफा १८ मा तालिम सेवा दलले दिए पनि तालिम प्राप्तलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउने व्यवस्था नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्धारण गरेबमोजिम हुने भनिएको छ । ‘राष्ट्रिय आवश्यकता’ को निर्धारण पनि मन्त्रिपरिषद्ले गर्नेछ । तालिम सञ्चालन गर्न आवश्यक कार्यविधि र मापदण्ड बनाउने अधिकार सेवा दल हुने भनिएको छ ।

राष्ट्रिय सेवा दलको क्याडेटलाई सार्वजनिक सेवा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, प्रकृति तथा पर्यावरण संरक्षण, संस्कृति सम्पदा संरक्षण एवं संवर्द्धन, सुरक्षा, सेवा, खेलकुद र तत्कालीन अवस्थामा आवश्यक ठानिने अन्य विविध क्षेत्रमा परिचालन गर्न सकिने विधेयकमा उल्लेख छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully