प्रहरीका अनुसार भीरमा अड्किएको एउटा शव निकालिएको हो । यसअघि प्रहरीले १ जना यात्रु अचेत अवस्थामा भेटिएको जनाएको थियो ।
सुर्खेत — दैलेख दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरमा अड्किएको एउटा शव निकालिएको हो । यसअघि प्रहरीले १ जना यात्रु अचेत अवस्थामा भेटिएको जनाएको थियो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा बेपत्ता यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट तल कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे छुटेको गाडीमा बसपार्कबाट ५ जना यात्रुहरू चढेका थिए । ‘बाटोमा पनि केही यात्रु चढेको जानकारी पाइयो,’ उनले भने, ‘गाडी नदीमा डुबेको अवस्थामा छ । उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोरलाई पनि खबर गरेका छौं ।’
