अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनकाजीका अनुसार अहिले होल्डिङ सेन्टरमा रहेका ३८८ परिवारमध्ये १९३ को खातामा रकम भुक्तानी भइसकेको छ ।
What you should know
काठमाडौँ — होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूको बैंक खातामा स्वव्यवस्थापनका लागि सरकारले २५ हजार रुपैयाँ राखिदिन थालेको छ ।
काठमाडौंमा रहेका केही होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूले बैंक खातामा रकम आएको जानकारी दिएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजनाका प्रमुख मचाकाजी महर्जनकाजी अनुसार अहिले होल्डिङ सेन्टरमा रहेका ३८८ परिवारमध्ये १९३ को खातामा रकम भुक्तानी भइसकेको छ ।
‘सफ्टवेयरको व्यस्तताले गर्दा अहिले त्यो गइसक्यो भनेर म्यासेज आएको छैन । डेलिभर्ड म्यासेज आएपछि कसको कसको खातामा पैसा गयो भन्ने कुराको जानकारी हामी टास्छौं,’ महर्जनले भने ।
उनका अनुसार होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका बाँकी विस्थापितहरूको खातामा पनि छिट्टै भुक्तानी हुनेछ । ‘आज होल्डिङ सेन्टरभन्दा बाहिर परेकाहरूको पनि लिस्ट चाहिँ फाइनल गर्दैछौँ । निवेदन आएको सबैलाई हाल्दिनलाई प्रक्रिया अघि बढिरहेको छ,’ महर्जनले भने ।
निकासा भएको १८ करोडमध्ये अहिलेसम्म ४९ लाखमात्र भुक्तानी भएको उनले बताए । तर कतिपयको भने बैंक खाता नखोलिएको र नागरिकता नभएका कारण उनीहरूको हकमा समस्या भएको उनले बताए ।
सरकारले विस्थापितहरूलाई सुरुमा १२ असार र त्यसपछि समय थप गरेर १९ असार होल्डिङ सेन्टर छाड्न आदेश दिएको थियो । तर सरकारले स्व-व्यवस्थापनका लागि भुक्तानी गर्न ढिला भएकाले यसमा आफूहरू लचक भएको महर्जनले बताए ।
‘उहाँहरूलाई आफ्नो हिसाबले डेरा खोजेर बस्ने समय पुग्छ भन्ने हिसाबले हामीले अनुमान गरेका थियौँ । तर हिजो दिउँसो पठाएको पैसा अहिलेसम्म हातमा पुगेको छैन । त्यकारण हामीले पनि जबर्जस्ती गर्ने कुरा छैन,' उनले भने ।
सरकारले १५ हजारका दरले दिने भनिएको ३ महिनाको भाडास्वरुपको रकम पनि चाँडै वितरण गर्ने उनले बताए । महर्जनले भने, ‘उहाँहरू स्वव्यवस्थापन गरेर बसेको रेकर्ड आएपछि हामी भाडा पनि हालिदिन्छौँ,' उनले भने ।
