जलवायु संकटको समाधान खोज्दै पानी, खाद्य र ऊर्जाको एकीकृत व्यवस्थापनमा जोड

जलवायु परिवर्तनका कारण बढ्दो पानीको अभाव, खाद्य असुरक्षा, ऊर्जा संकट र जनस्वास्थ्यका चुनौतीलाई एउटै प्रणालीभित्र समेटेर समाधान खोज्नुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले जोड दिएका छन् ।

असार १७, २०८३

ज्योती श्रेष्ठ

Emphasis on integrated management of water, food and energy in search of solutions to the climate crisis

What you should know

काभ्रे — जलवायु परिवर्तनका कारण बढ्दो पानीको अभाव, खाद्य असुरक्षा, ऊर्जा संकट र जनस्वास्थ्यका चुनौतीलाई एउटै प्रणालीभित्र समेटेर समाधान खोज्नुपर्नेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले जोड दिएका छन् । उनीहरूले जल, खाद्य र ऊर्जाको समन्वित (फुड–एनर्जी–वाटर नेक्सस) अवधारणालाई अब नीति र व्यवहारमा उतार्नुपर्ने बताएका छन् । 

काठमाडौं विश्वविद्यालयमा सम्पन्न ग्लोबल (फुड–एनर्जी–वाटर) एलायन्सको तेस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०२६ ले जलवायु सहनशील विकासका लागि विज्ञान, प्रविधि, नीति र समुदायबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको हो । नेपाल, अमेरिका, इजरायल, अष्ट्रेलिया र तान्जानियाका ४० भन्दा बढी वैज्ञानिक, अनुसन्धानकर्ता तथा नीति–निर्माताको सहभागिता रहेको सम्मेलनमा जलवायु संकटको समाधान बहुक्षेत्रीय सहकार्यबाट मात्र सम्भव हुने साझा धारणा व्यक्त गरिएको थियो । 

सम्मेलनको उद्घाटन गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका निर्देशक प्रा. डा. बिमप्रसाद श्रेष्ठले खाद्य–ऊर्जा–जल नेक्सस कुनै सैद्धान्तिक अवधारणा मात्र नभई जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेका समाजका लागि व्यवहारिक समाधान भएको बताए । उनका अनुसार पानी, सरसफाइ, फोहोर पानी प्रशोधन तथा पुनःप्रयोग, नवीकरणीय ऊर्जा, कृषि र जनस्वास्थ्यलाई एउटै प्रणालीभित्र जोडेर अघि बढ्न सके मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ । 

Emphasis on integrated management of water, food and energy in search of solutions to the climate crisis

उनले सम्मेलनअघि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. ४ स्थित श्री जनक माध्यमिक विद्यालयमा इजरायली लगुना प्रविधिमा आधारित नेपालकै पहिलो सौर्य ऊर्जाचालित फोहोर पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली स्थापना गरिएको जानकारी दिए । उक्त प्रणालीबाट प्रयोग भइसकेको पानी प्रशोधन गरी पुनः सिँचाइ र अन्य प्रयोजनमा उपयोग गर्न सकिने भएकाले सीमित जलस्रोत भएका क्षेत्रमा नयाँ सम्भावना सिर्जना भएको उनको भनाइ थियो ।

ग्लोबल FEWture एलायन्सकी निर्देशक तथा अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डकी प्राध्यापक डा. एमी आर. सापकोटाले सम्मेलनलाई केवल अनुसन्धान प्रस्तुत गर्ने मञ्च मात्र नभई नयाँ साझेदारी निर्माण गर्ने, कार्यान्वयनका अनुभव आदानप्रदान गर्ने र युवा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने साझा प्लेटफर्मका रूपमा व्याख्या गरिन् । खाद्य, पानी र ऊर्जा प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले ती सेवाबाट वञ्चित समुदायसम्म दिगो समाधान पुर्‍याउनु नै एलायन्सको उद्देश्य रहेको उनले बताइन् । 

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न आधुनिक सिँचाइ, पानीको दक्ष उपयोग, फोहोरपानी पुनःप्रयोग तथा अनुसन्धानमा आधारित नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताए । सीमित जलस्रोतका बाबजुद इजरायलले प्रविधि र अनुसन्धानको सहायताले कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै उनले नेपाल–इजरायल सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

Emphasis on integrated management of water, food and energy in search of solutions to the climate crisis

सम्मेलनका प्रमुख वक्ता तथा गेट्स फाउन्डेसनका पूर्व उपनिर्देशक डा. रोशन राज श्रेष्ठले जलवायु अनुकूलनका रणनीतिमा पुनःप्रयोग योग्य पानीलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार फोहोरपानीलाई समस्या नभई कृषि, ऊर्जा, जल सुरक्षा र हरित अर्थतन्त्रसँग जोडिने बहुमूल्य स्रोतका रूपमा हेर्नुपर्ने समय आएको छ । उनले विकास परियोजनाहरू परीक्षण चरणमै सीमित रहने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । 

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस तथा धुलिखेल अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. बिराज कर्माचार्यले जलवायु सहनशील पूर्वाधार निर्माणमा उपकरणभन्दा सञ्चालन र मर्मतसम्भार ठूलो चुनौती भएको बताए । दक्ष प्राविधिक जनशक्ति, स्थानीय क्षमता विकास र भरपर्दो व्यवस्थापन बिनाको प्रविधि दिगो नहुने उनको भनाइ थियो । असार १५ र १६ गते सञ्चालन भएको सम्मेलनमा ग्रे–वाटर पुनःप्रयोग, वर्षाको पानी संकलन, विकेन्द्रीकृत फोहोरपानी प्रशोधन, नवीकरणीय ऊर्जा, बायोचार, दिगो कृषि, कृत्रिम बुद्धिमत्ता (एआई), सार्वजनिक स्वास्थ्य तथा जलवायु अनुकूलनसँग सम्बन्धित तीन दर्जनभन्दा बढी अनुसन्धान तथा प्रविधिगत अभ्यास प्रस्तुत गरिएका थिए । 

समापन समारोहमा संस्कृति फार्म्स एन्ड रिसर्च सेन्टरका निर्देशक इन्जिनियर श्रीकृष्ण धितालले विश्वविद्यालयका अनुसन्धान समुदायका वास्तविक आवश्यकता समाधान गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए । अनुसन्धानको सफल्ता शैक्षिक प्रकाशनमा होइन, स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने व्यावहारिक समाधान विकासमा निहित रहेको उनको भनाइ थियो । 

उनले सरकारलाई अनुसन्धानमा आधारित स्टार्टअप, नवप्रवर्तन र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति ल्याउन आग्रह गर्दै विश्वविद्यालयमा विकसित प्रविधिलाई उद्योग, कृषि र समुदायसम्म पुर्‍याउने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । सम्मेलनले जलवायु परिवर्तनको चुनौती सामना गर्न पानी, खाद्य र ऊर्जालाई छुट्टाछुट्टै क्षेत्रका रूपमा नभई एकीकृत प्रणालीका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको छ। पुनःप्रयोगयोग्य पानी, नवीकरणीय ऊर्जा, कृषि नवप्रवर्तन र स्रोत पुनःप्रयोगमा आधारित चक्रीय अर्थतन्त्रलाई प्राथमिकता दिादै विज्ञानमा आधारित नीति, अन्तर्राष्ट्रिय सहकार्य र समुदायको सक्रिय सहभागितामार्फत मात्र जलवायु सहनशील र दिगो विकास सम्भव हुने साझा सन्देश सम्मेलनले दिएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully