केयुको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण)  मा १ हजार ५ सय २७ विद्यार्थी दीक्षित हुँदै

समारोहमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

असार १७, २०८३

ज्योती श्रेष्ठ

1,527 students being inducted in KU's 31st convocation ceremony (second phase)

What you should know

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयु)को ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) असार १९ गते आयोजना हुने भएको छ । समारोहमा विभिन्न संकायका १ हजार ५ सय २७ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि (PhD/DM/MCh), ९३ जना एमफिल तथा अनुसन्धानमूलक स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, २ जना पीजीडीई र १ हजार १ सय ३२ जना स्नातक तहका विद्यार्थी रहेका छन् । संकायगत रूपमा स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा धेरै ५ सय ४ जना विद्यार्थी दीक्षित हुनेछन् । त्यस्तै स्कुल अफ इन्जिनियरिङबाट ३ सय ५५, स्कुल अफ साइन्सबाट २ सय ७, स्कुल अफ आर्ट्सबाट १ सय ६१, स्कुल अफ म्यानेजमेन्टबाट १ सय ४६, स्कुल अफ एजुकेसनबाट १ सय १२ र स्कुल अफ लबाट ४२ जना विद्यार्थीले उपाधि प्राप्त गर्नेछन् ।

दीक्षित हुनेमध्ये ८ सय पुरुष र ७ सय २७ महिला रहेका छन् । साथै अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, बेलायत र अमेरिकाका १ सय ७९ जना विदेशी विद्यार्थी पनि यसपटक दीक्षित हुनेछन् । यो संख्या कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत रहेको विश्वविद्यालयले जनाएको छ ।

यसपटक विश्वविद्यालयको इतिहासमै पहिलो पटक Bachelor of Technology in Artificial Intelligence अन्तर्गत २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ । 

यस चरणको दीक्षान्त सम्पन्न भएसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुने विद्यार्थी संख्या ५१ हजार ५ सय ६७ पुग्नेछ । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् । 

दीक्षान्त समारोह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा हुनेछ । प्रधानमन्त्री तथा कुलपति व्यस्त रहेकाले यसपटक उहाँको उपस्थितिमा समारोह नहुने उपकुलपति प्रा. डा. ऋषीकेश वाग्लेले जानकारी दिए। समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नेछन् ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully