राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम बढेकाले नागरिकलाई सुरक्षित बस्न आग्रह गरेको छ ।
What you should know
काठमाडौँ — गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमान नगरमा १४८.८ मिलिमिटर परेको छ । अन्य प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको मधेशका केही ठाउँमा न्यून वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि मनुसनी गतिविधि बढ्न गई विभिन्न प्रदेशमा मेघगर्जन चट्याङसहित भारी र धेरै भारी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका धेरै स्थानमा भारी र एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहने विभागको भनाइ छ ।
आज बाँके, बर्दिया र कैलाली भएर बहने स-साना नदीमा बाढी बढीरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी, पश्चिम रुपन्देही, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बग्ने ससाना नदीको बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थान तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको हो । साथै, डुबानको जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान र अरूलाई पनि जानकारी गराउन आग्रह गरिएको छ ।
प्राधिकरणले तीनै तहका सरकार, सुरक्षा निकाय तथा स्वयंसेवकलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । जोखिमयुक्त राजमार्ग र सडकमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा भोलि बुधबारसम्म मनसुन विस्तार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
