ईयूले आकाशमा लगाएको प्रतिबन्ध हटाउने विषयमा सरकारले नीतिगत, कानुनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको उनले दाबी गरे ।
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्न सक्ने अवस्था नभएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी संवाद कार्यक्रममा उनले नेपालको हवाई क्षेत्रमा सरकार आफैले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारे । मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताए ।
ईयूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानुनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको उनले दाबी गरे ।
'हामीले जति संख्यामा पर्यटक भित्र्याउने आकांक्षा देखेका छौँ । त्यहीअनुसार योजना, नीति बनाइरहन्छौं । तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन । भएका कम्पनीका साथीहरुको पनि गुनासो मात्रै बढी छ । सप्रिँदै जानेभन्दा बिग्रँदै गएजस्तो देखिन्छ,' उनले भने, 'अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराइहालौं भन्ने अवस्था पनि छैन । धेरै चिजहरुबाट यो कम्पिलिकेटेड रहेछ भनेर मैले ३ महिनाको दौरानमा थाहा पाएँ । यसलाई कुनै न कुनै तरिकाले पार लगाउनुपर्छ भन्नेमा हामी छौँ ।'
हवाई उद्योग एकदमै सुदृढ नगरी यो देशको उन्नयन सम्भव नहुने उनले बताए । 'प्रमुख रुपमा त हामी सबैलाई थाहा छ–अहिले ईयूको आकाशमा हामी प्रतिबन्धित छौं । त्यो प्रतिबन्धबाट उठाउनका लागि पनि हामीले धेरै नीतिगत, कानुनी सुधार पनि गर्नुपर्नेछ । अरु धेरै सुरक्षाका मापदण्डहरुलाई पूरा गर्दै जानुपर्नेछ,’ उनले भने ।
