कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

असार १६ र १७ गते बेलुका ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै प्रकारको यात्रा नगर्न तथा नगराउन प्रशासनको आग्रह छ ।

असार १६, २०८३

रासस

Administration urges people not to travel on Kanti Lokpath at night

बागमती — जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले मंगलबार जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौं सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा नगराउन आग्रह गरिएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरिएको ‘आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध’सम्बन्धी सूचनाअनुसार असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको प्रशासनको सूचनामा भनिएको छ ।

ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुङ्गा सञ्चालन गर्ने, नदी तर्नेलगायतका जोखिमयुक्त गतिविधि नगर्न तथा नगराउन आग्रह गर्दै प्रशासनले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न तथा विशेष सतर्कता अपनाउन भनेको छ ।

मौसम तथा सडकको अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गर्न तथा सुरक्षित भएपछि मात्र यात्रा गर्न तथा कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रको नि:शुल्क फोन नम्बर ११४९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

वर्षातको समयमा जोखिमको परिस्थितिको मूल्याङ्कनको आधारमा जिल्लाभित्रका कुनै पनि सडकमा सुरक्षाकर्मीद्वारा निश्चित समयको लागि आवागमन रोक्न सक्ने भएकाले सो कार्यमा सबैबाट सहयोग, समन्वयका लागि प्रशासनले सबैमा आग्रह गरेको छ ।

रासस

Link copied successfully