भटाभट बंगुरहरू बिरामी पर्न थालेपछि र्यापिड टेस्ट विधिबाट परीक्षण गर्दा 'अफ्रिकन स्वाइ फिबर' संक्रमण पोजेटिभ देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ ।
गोरखा — अफ्रिकन स्वाइन फिबर संक्रमणबाट गोरखामा २५० भन्दा बढी बंगुर मरेका छन् । ३ महिनाको अन्तरालमा २५० भन्दा बढी बंगुर मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइरालाले बताए ।
गोरखा नगरपालिका–६ का एक किसानको फर्मको १२० वटा बंगुर एक हप्ताको अन्तरालमा अफ्रिकन स्वाइन फिबर संक्रमणले मरेका छन् । गोरखा नगरपालिका–६, ७, ८ तथा सहिद लखन गाउँपालिका–६ क्षेत्रका बंगुरमा अफ्रिकन स्वाइन फिबर देखिएको उनले बताए ।
‘अफ्रिकन स्वाइन फिबरले फाट्टफुट्ट बंगुर मरेका छन्,’ उनले भने,‘सुरुमा ज्वरो आउने, खाना नखाने शरीरमा धब्बा देखिने लक्षण देखिएको छ, बंगुर बिरामी भएपछि र्यापिड टेस्टबाट परीक्षण गराउँदा अफ्रिकन स्वाइन फिबर पोजेटिभ देखिएको छ ।’ अफ्रिकन स्वाइन फिबरबाट मरेका बंगुरको तथ्याङ्क अझै संकलनकै क्रममा रहेको कार्यलयले जनाएको छ ।
बंगुरमा अफ्रिकन स्वाइन फिबर देखिएपछि सचेतना अपनाउन किसानलाई आग्रह गरिएको छ । यो रोग विषाणुबाट लाग्ने रोगको सटिक उपचार नहुने हुँदा नियन्त्रण र फैलन नदिन किसानलाई सचेत गराइएको उनले बताए ।
बिरामी बंगुरलाई स्वस्थ बंगुरबाट अलग राख्न, खोरभित्र र वरपर जैविक सुरक्षाका विधिहरू अपनाउन किसानलाई सुझाव दिएको पनि कोइरालले बताए । ‘रोकथामका लागि जैविक सुरक्षाका सामाग्रीहरू पनि दिएका छौं, सचेत रहेन किसानलाई भनेका छौं,’ उनले भने ।
