आइतबार साँझ करिब ६ बजे गुरुङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेर आफूले साथीको हत्या गरेको जस्तो दृश्य देखाएकी थिइन्।
काठमाडौँ — साथीको हत्या गरेको जस्तो देखिने प्र्याङ्क भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले पर्वतको फलेबास नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–७ चाङ्गाथलीस्थित युनाइटेड कालोनी नजिक डेरा गरी बस्दै आएकी २५ वर्षीया मन्दिरा गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, आइतबार साँझ करिब ६ बजे गुरुङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेर आफूले साथीको हत्या गरेको जस्तो दृश्य देखाएकी थिइन्। त्यसपछि जिरेलले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रुममा खबर गरेकी थिइन्।
सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट खटिएको टोली घटनास्थल पुगेको थियो। तर, प्रहरी पुग्दा ओछ्यान र हातमा रङ दलिएको देखिएपछि सोधपुछका क्रममा प्र्याङ्क भिडियो बनाएको खुलेको प्रहरीको भनाइ छ।
ललितपुर प्रहरीका अनुसार, शान्ति–सुरक्षामा खलल पुर्याउने तथा झुट्टा अफवाह फैलाउने उद्देश्यले उक्त कार्य गरिएको पाइएकाले गुरुङलाई पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
