उत्पादन र मूल्य दुवै घटेका कारण जडीबुटीको कमाईले जीविका चलाइरहेका बझाङका हिमाली क्षेत्रका बासिन्दाको दैनिकी संकटमा परेको छ । आम्दानीको विकल्प नभएका कतिपय त घरमा ताल्चा ठोकेर परिवारै मजदुरी गर्न भारत हानिएका छन् ।
What you should know
बझाङ — सदरमुकाम चैनपुर बजार भएर बग्ने बाहुलीगाड खोला किनारमा खुलामञ्चको झोलुंगे पुलदेखि चौडको पक्की पुलसम्म दिनहुँ महिला र बालबालिकाको ताँती देखिन्छ । खोला किनारको झण्डै डेढ किलोमिटर वारपार उनीहरु एकतमासले गिट्टी कुटिरहेका हुन्छन् । यही हुलमा छिन्, सूर्मा गाउँपालिका–४ थकुन्नाडाकी ६२ वर्षीया जुनकिडी बोहरा ।
रोगले ग्रस्त उनको बुढ्यौली शरीरले घन चलाउन सक्दैन । ठूला ढुंगा फुटाउन नसके पनि उनी खोलाले बगाएका सानासाना लोहोरा (ढुंगा) डोकोमा भर्छिन् । मुस्किलले डोको उचाल्दै लौरोको सहारामा नयाा बन्दै गरेको बसपार्क छेउ ढुंगा खन्याउछिन् । सानो हथौडाले ठोक्दै गिट्टी बनाउँछिन् । असारको गर्मीमा असिनपसिन हुँदै यो काम गर्नु उनको बाध्यता हो । ‘सन्चो भएको मैना (महिना) दुई ट्याक्टरसम्म बनाउँछु । विरामी भयो भने एक ट्याक्टर पनि भर्न मुस्किल हुन्छ,’ जुनकिरीले पसिना पुच्छ्दै भनिन्, ‘ज्यान पाल्न काम गर्नै पऱ्यो । सकिनसकी बुढेसकालमा ढुंगा फुटाउनु परेको छ ।’
चैनपुरमा एक ट्याक्टर गिट्टीे चार हजार पाँच सय रुपैयाँमा बिक्री हुन्छ । यही पैसाले बाहुलीगाडनजिकैको एक घरमा डेरा लिएर बसिरहेकी जुुनकिरीको जीविका चलेको छ । आठ वर्षअघिसम्म उनको काम फरक थियो । श्रीमान्, तीन छोरा, बुहारी र नातिनातिनासँग उनी घरमै बस्थिन् । दुई/तीन महिना खानलाई खेतको उब्जनीले पुग्थ्यो । बाँकी महिना यार्सागुम्बा र जडीबुटीको कमाइले धानेको थियो । श्रीमान् र तीन छोरा, दुई बुहारी भएर वर्षमा १० देखि १२ लाखसम्मको यार्सा र अन्य जडीबुटी टिप्थे । तीन महिना टिपेको जडीबुटीको कमाइले वर्षभरी खान लाउन पुगेर बचत पनि हुन्थ्यो ।
सदरमुकाम चैनपुरमा जग्गा जोड्ने सल्लाह हुँदै गर्दा उनका श्रीमान् विरामी भए । मिर्गाैलामा देखिएको समस्याको उपचार गर्न घरमा भएको र ऋणधन गरेको पैसा खर्च गरे पनि बचाउन सकेनन् । श्रीमान्को ज्यान गयो । छोराहरुको थाप्लोमा ऋण थपियो । ‘पहिलाजसो जरा (यार्चा, वनलसुन, सतुवालगायत जडीबुटी) पाउने भए त्यही टिपेर पनि ऋण तिरिहाल्थे होलान् । अहिले त्यसो छैन,’ उनले भनिन्, ‘ऋण तिर्न र खानलाउन मुस्किल भएपछि सबै इन्डिया गएका छन् । यहाँ म एक्लै छु ।’ उनले केही गरी विरामी भएर गिट्टी कुट्न नसके प्रत्येक महिना दुई हजार रुपैयाँका दरले आउने एकल महिला भत्ताले जीवन धान्नुपर्ने बाध्यता सुनाइन् ।
बाहुलीगाड किनारमा गिट्टी कुट्नेहरु अधिकांश सूर्मा गाउँपालिकाका स्थानीय छन् । उनीहरुमध्ये धेरैको कथा जुनकिडीको भन्दा फरक छैन । एक दशकअघिसम्म जडीबुटीकै कारण जिल्लामै सबैभन्दा बढी वार्षिक आम्दानी हुनेमा गनिने यो पालिकाका स्थानीय अहिले जडीबुटी पाउन छोडेपछि सदरमुकाम चैनपुरलगायतका ठाउँमा ज्यालामजदुरी गरिरहेका भेटिन्छन् । ‘पहिला प्रशस्तै जडीबुटी पाइन्थ्यो, त्यसैले सबैसँग पैसा हुन्थ्यो,’ सूर्मा–४ की झरना बोहरा भन्छिन्, ‘अहिले जडीबुटी पाउन छोड्यो, गाउँमा उब्जनी छैन, रोजगारी पनि छैन, पेट पाल्न केही न केही त गर्नै पऱ्यो ।’ उनले गिट्टी बेचेरै कोठाभाडा र छोराछोरीको पढाई खर्च जुटाइरहेको सुनाइन् । उनको पालिकाका सबैजसोको आम्दानीको मुख्य स्रोत जडीबुटी हो । जडीबुटी बेचेरै केहीले सदरमुकाम चैनपुर, धनगढी, महेन्द्रनगर जस्ता सहरबजारमा घरघडेरी पनि जोडे । धेरैजसोले छोराछोरीलाई काठमाडौं, पोखरा, बुटवल, धनगढी जस्ता ठाउँमा इन्जिनियरिङ, विज्ञान, नर्सिङलगायत महंगो शुल्क लाग्ने विषय पनि पढाए ।
२०६० को दशकपछि झण्डै १५ वर्षजति मजुदरी गर्न भारत जानेको संख्या समेत शून्यमा झरिसकेको यो पालिकाका स्थानीयको जीवनशैली पछिल्लो समय जडीबुटीको उपलब्धता घटेपछि फेरि पुरानै अवस्थामा फर्किन थालेको छ । ‘अहिले जडीबुटी पाउन छोडेपछि कतिका छोराछोरी बीचैमा पढाई छाडेर सहरबाट गाउँ फर्किएका पनि छन्,’ सूर्माकै अर्की स्थानीय मनिषा बोहराले भनिन्, ‘जडीबुटी पहिला जस्तो पाइदैन । खर्च बेहोर्ने अरु आम्दानी केही छैन ।’ सुरुमै राम्रो कमाई गरेर सहरबजारमा घरघडेरी जोडेका र व्यापार व्यवसाय थालेका सीमित परिवारबाहेक यहाँका धेरैको दिनचर्या मुस्किल हुँदै गएको उनको भनाई छ ।
जडीबुटीको कमाईले जीविका चलाइरहेका बझाङका सबै गाउँपालिकाको अवस्था सूर्माको भन्दा फरक छैन । जडीबुटी उत्पादन घटेपछि अन्नबाली उत्पादन कम हुने हिमाली पालिकाहरु साइपाल, सूर्मा, तलकोट, मष्टा, छविस पाथीभेरा, बुगंल र जयपृथ्वी नगरपालिकाका उत्तरवर्ती गाउँका बासिन्दाको जीविका संकटमा परेको छ।आम्दानीको विकल्प नभएका कतिपय परिवार त घरमा ताल्चा ठोकेर परिवारै मजदुरी गर्न भारत हानिएका छन्।
६ वर्षअघिसम्म धर्म सिंहको घर गजबले चलेको थियो । श्रीमान्, श्रीमती र दुई छोरासहित चार जनाको परिवार जयपृथ्वी नगरपालिका–१ पिमी गाउँमा बस्थे । छोराहरु गाउँकै बोर्डिङ स्कुलमा पढ्थे । धर्मकी श्रीमती शान्तिले घरखेत र बालबच्चाको हेरचाह गर्थिन् । धर्म वैशखदेखि असारसम्म किरा (यार्सागुम्बा) र जरा (जडीबुटी) टिप्न साइपाल र सूर्मा गाउँपालिकाका पाटनमा पुग्थे । यार्सा र जडीबुुटी टिपेर उनी हरेक वर्ष तीनदेखि पाँच लाख रुपैयाँ बोकेर घर फर्किन्थे । शान्तिले पनि गाउँनजिकैका जंगलमा पाइने सतुवा, सुगन्धवाल जस्ता जडीबुटी संकलन गरेर वर्षमा ५०/६० हजार आम्दानी गरेकै हुन्थिन् । आफ्नै जग्गाबाट हुने उब्जनीले दुई/तीन महिना मात्रै खान पुग्ने भए पनि जडीबुटीको कमाइले यो परिवारको आवश्यकता पुगेको थियो ।
सहयोगी स्वभावका धर्म दम्पती गाउँमा हुने सामाजिक काममा संलग्न हुन्थे, समस्यामा परेकालाई सहयोग गर्न पनि अघि सर्थे । सानै घरमा बस्ने भएपनि उनीहरु गाउँकै खुसी परिवारमध्ये एक थिए । धर्मको परिवार अहिले गाउँमा छैन । उनको सानो घरमा ६ वर्षदेखि ताला झुण्डिएको छ । कुनै बेला रातो माटो र कमेरोले पोतेर चिटिक्क देखिने उनको घरको भित्ताको रंग अहिले उडिसकेको छ । आँगनमा झारपात उम्रिएका छन् ।
‘सुरुसुरुमा राम्रै कमाई गर्नुहुन्थ्यो, पछि तीन/चार वर्ष लगातार घाटा लाग्यो,’ धर्मको परिवारले गाउँ छोड्नु पर्ने कारण खुलाउँदै छिमेकी भाउजु लालदेवीले भनिन्, ‘पहिला जस्तो जडीबुटी नै पाउन छाड्यो, प्रत्येक वर्ष लेक गयो, तीन/चार महिना खाएर बसेकै ऋण पनि धेरै भयो, त्यही पैसा तिर्न इन्डिया गएका हुन्, ६ वर्ष भैसक्यो फर्केका छैनन् ।’ करिब चार सय परिवारको बसोबास रहेको यो गाउँमा परिवारै भारत जानेमा धर्म मात्रै एक्ला होइनन् । जडीबुटीको भरमा जीविका चलाइरहेका ७० बढी परिवार उनको जस्तै घरमा ताल्चा लगाएर विस्थापित भैसकेको पूर्ववडाध्यक्ष गगनबहादुर सिंहको भनाई छ ।
‘किरा’ नभेटिँदा कमाइ घट्यो
तलकोट गाउँपालिका–४ लोकण्डका गोविन्द रोकायाको परिवारको ठूलो आयस्रोत भनेकै किरा (यार्सा) बेचेर आउने पैसा थियो । खेतीपातीबाट हुने उत्पादनले २ महिना पनि खान नपुग्ने उनको नौ जनाको परिवार २०६० देखि यार्साकै कमाइले धानेको थियो । उनले खाद्यान्न, नुनतेल, लत्ताकपडाबाहेक केटाकेटीको पढाई खर्च गरेर बचेको पैसाले गाउँमा नयाँ घर पनि बनाउन भ्याएका थिए ।
तीन महिना किरा टिप्यो । बाँकी समय खेतीपातीको काम गऱ्यो । परिवारसँग रमाएर बस्यो । जिन्दगी गज्जबले चलेको थियो । डेढ दशक बढी समय एउटै लयमा चलेको उनको परिवारको दिनचर्यामा ५/६ वर्षयता भने खल्बलिएको छ । अहिले उनी कहिले निर्माण सामग्री (सिमेन्ट, छड, जस्तापाता, पाइप) को गह्रौं भारी बोकेर तीन/चार दिन पैदल साइपाल गाउँपालिका विभिन्न ठाउँ पुग्छन् । कहिले कालापहाड (भारतको नैनीताल, खरीखान, केदारनाथलगायतका ठाउँ)मा मजदुरीका लागि धाउँछन् ।
यार्साको व्यापार सुरु हुनुअघिनै किशोरवयमा कालापहाडका दु:ख भोगिसेका ४५ वर्षीय रोकाया भन्छन्, ‘अब किरा खुल्यो, इन्डियाको लेवरी (मजदुरी) छुट्यो भनेर खुसी भएको थिए, फेरि उस्तै दुख आइलाग्यो ।’ २०६०–०६५ सालतिर एकै दिनमा ५/६ सय गोटासम्म यार्सा भेटाएको बताउने उनले अहिले भने धेरै पाएको दिन मुस्किलले १०/१५ वटासम्म भेटिने गरेको बताए । ‘पहिला एउटा किरा भेटियो भने त्यसकै वरिपरी दुई/तीन सय वटासम्म पोको (बेर्ना) भेटिन्थे,’ उनले भने, ‘अचेल एउटा यहाँ पाइयो भने अर्काे खोज्न पल्लो डाँडासम्म पुग्नु पर्छ । दिनभर खोजेर हातगोडा गल्दासम्म पनि कुनै दिन त एउटा पनि पाइदैन ।’
२०६४ देखि ०७४ सम्म पाटनमा प्रशस्त यार्सा र बजारमा भने जस्तो मूल्य पाउँदा बझाङको ग्रामीण क्षेत्रको अर्थतन्त्रको ग्राफ एकाएक चुलिएको थियो । जीवन बुटीका नामले प्रख्यात यार्साले आर्थिक अभावमा वर्षौंदेखि पिल्सिएका गाउँलेलाई नयाँ जीवन नै दिएको थियो । तर किराले उकासेको बझाङको समृद्धि दिगो हुन सकेन । यसको अर्काे उदाहरण हुन्, सूर्मा गाउँपालिकाका धन्या बोहरा । १९ जनाको परिवार भएका उनको घरमा १५ वर्ष पहिला खानलाउन धौधौ थियो ।
विपन्नता यति चरम थियो कि स्कुलको शुल्क तिर्न नसकेर उनका ६ मध्ये ४ छोराले ५ कक्षा भन्दा बढी पढ्न पाएनन् । तर यार्साको व्यापार हुन थालेपछि भने एकाएक उनको आर्थिक अवस्थामा चमत्कार भयो । यार्साकै कमाइले उनले सदरमुकाम चैनपुरमा घडेरी जोडेर घर बनाए । गाउँमा रहेको पुरानो झुपडी भत्काएर पक्की घर हाले । ‘पहिला मान्छे धेरै भएर कसरी पाल्ने भन्ने चिन्ता थियो । किरा खुले पछि त जति धेरै मान्छे उति धेरै पैसा भयो’, यार्साको कमाई बारे बताउँदै उनले भने, ‘किरा टिप्ने धेरै भएकाले कुनै वर्ष त २५ लाखसम्म कमायौं । खानलाउनलाई छेलोखेलो भैहाल्थ्यो । बचेको रकमले चैनपुरमा जग्गा किन्यौं घर पनि बनाइयो ।’ तर ५/६ वर्षयता उनको परिवारका सबै जनाले वर्षमा मुस्किलले २/३ लाखको यार्सा टिप्छन् । मनमौजी खर्च गर्ने बानी लागेको यो परिवारलाई त्यो कमाइले अब खानलाउन पनि समस्या हुन थालेको छ । कुनै बेला ठूलो परिवार भएकोमा गर्व गर्ने बोहरा भन्छन्, ‘खाने मुख धेरै भए । पहिला जस्तो यार्सा पाइदैन । अरु आम्दानी छैन ।’
मूल्य पनि घट्यो
बझाङमा जडीबुटी बिक्रीबाट कति रकम भित्रिन्छ भन्ने एकिन तथ्यांक कतै नभए पनि २०७८/०७९ सालसम्म वार्षिक दुई अर्ब बराबरको कारोबार हुने गरेको जडीबुटीको व्यापारमा संलग्न बताउँछन् । जडीबुटीको उत्पादनसँगै कारोबार घटे पछि धेरै जसोले यो व्यापार नै छोडिसकेको एक जना जडीबुटी व्यापारी बसन्त खड्काले बताए । ‘रकम नफसेकाहरु धेरैले व्यापारै छोडिसके,’ उनले भने, ‘म जस्ता केही पेस्की फसेकाहरु मात्रै अहिले रकम उठ्छकी भनेर झुण्डिएका छौं ।’ उनले यार्सालगायत जडीबुटी संकलकलाई व्यापारीहरुले पहिले नै पेस्की दिएको रकम बराबर जडीबुटी संकलन गर्न नसक्दा व्यापारीहरुको ठूलो लगानी फसेको सुनाए। ‘पहिला दुई लाख पेस्की खानेले ५/६ लाखको जडीबुटी टिप्थे । अहिले ५०/६० हजारको बनाउन सक्दैनन । पेस्की बराबरको सामान बनाउन नसके पछि संकलक पनि क्रणमा परेका छन् । व्यापारी पनि डुबेका छन्,’ उनले भने ।
उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष समेत रहेका जडीबुटी व्यापारी दानबहादुर सुर्मेली रकमका आधारमा जिल्लाभर हुने कारोबार ८/१० वर्षअघिको भन्दा ७० प्रतिशतले घटिसकेको बताए । ‘म एक्लैले वर्षमा २५ करोड बराबरको कारोबार गर्थे । म भन्दा बढीको कारोबार गर्ने पनि धेरै थिए,’ सुर्मेली भन्छन्, ‘अहिले मेरो फर्मबाट मुस्किले एक/डेढ करोडको कारोबार हुन्छ ।’
डिभिजन वन कार्यालय बझाङको तथ्याङक अनुसार पनि जिल्लामा यार्साको उत्पादन ह्वात्तै घटेको छ । २०६५ देखि ०७० सालसम्म प्रतिवर्ष ४ सय २४ किलोसम्म निकासी भैरहेको यार्साको उत्पादन घटेर २०८२ मा आइपुग्दा १ सय ३६ केजीमा सीमित भएको छ । अहिले उत्पादन मात्रै नभएर मूल्य पनि घटेका कारण संकलकहरु झन् समस्यामा छन् । २०६६–०६८ सालतिर बझाङमै प्रतिकिलो ३० लाख रुपैयाँसम्ममा कारोबार भएको यार्साको मूल्य अहिले प्रतिकिलो आठ लाख भन्दा तल छ । गत वर्ष पनि यहाँका संकलकले आठ लाख रुपैयाँकै दरमा कारोबार गरेको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष समेत रहेका जडीबुटी व्यापारी दानबहादुर सुर्मेलीले बताए ।
यार्सागुम्बाबारे भएका अध्ययनहरुले पनि उत्पादन घटेको देखाएका छन् । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) १५ वर्षयता यार्सागुम्बाको उत्पादनमा ३० प्रतिशत गिरावटमा आएको भन्दै यसलाई संवेदनशील (जोखिम उन्मुख) प्रजातिको सूचीमा सूचीकृत गरेको छ । सन् २०२१ मा रेडलिस्ट (रातो सूची) सार्वजनिक गर्दै आईयूसीएनको एसएससी फंगल कन्जर्भेसन कमिटीका अध्यक्ष प्राध्यापक ग्रेगोरी मुएलरले अत्यधिक संकलनका कारण यार्सा संवेदनशील अवस्थामा पुगेको यो नै अहिलेसम्म रेकर्ड भएको केश भएको बताएका थिए ।
यार्सागुम्बा पछि बझाङका हिमाली क्षेत्रका बासिन्दाको आम्दानीको अर्काे मुख्य स्रोत भनेको वन लसुन हो । गाउँमै प्रतिकिलो ४० हजार रुपैयाँसम्ममा बिक्री हुने यो जडीबुटी पनि केही वर्षयता धेरै नै कम भेटिन थालेको छ । ‘४/५ वर्ष पहिलासम्म एक जनाले दिनकै ४/५ किलोसम्म निकाल्थ्यौं । घट्दै घट्दै गएर अहिले ४/५ दिन खोज्दा पनि १/२ किलो बनाउन मुस्किल हुन्छ,’ साइपाल गाउँपालिकाकी विमला बोहरा भन्छिन्, ‘यस्तै हो भने आउँदा वर्षमा त १/२ बोट देख्न पनि नपाइएका कि जस्तो छ ।’
दुई हजार रुपैयाँ प्रतिकिलोका दरले २०६५ सालतिर व्यापारिक प्रयोजनको लागि संकलन सुरु भएको वनलसुनको मूल्य २०७७ सालतिर आश्र्चयजनक रुपमा बढेर किलोको ४० हजारसम्म पुगेपछि संकलकको आर्कषण ह्वातै बढ्यो । कमाइको लोभमा अत्याधिक र बेमौसममा समेत संकलन हुन थालेपछि अहिले यो जडीबुटी दुर्लभ हुन पुगेको छ ।
डिभिजन वन कार्यालयको अभिलेखअनुसार आव २०७८/०७९ मा ४ हजार ४२८ किलो निकासी भएको वनलसुन गत वर्ष एक हजार ८ सय किलो निकासी भएको छ । बझाङमा लोप हुने अवस्थामा पुगेको अर्काे मूल्यवान जडीबुटी सतुवा हो । प्रतिकिलो १२ हजार रुपैयाँसम्ममा बिक्री हुने सतुवाको २०६१ सालदेखि नै संकलन सुरु भएको हो । अत्यधिक संकलन भएका कारण लोप हुने अवस्थामा पुगेको भन्दै २०७१ मै जिल्ला परिषद्ले दुई वर्षका लागि संकलन गर्न प्रतिबन्ध लगाएको सतुवा कुनै कुनै वर्ष ३ हजार ७४२ किलोसम्म संकलन भएको वन कार्यालयको तथ्यांकबाट देखिन्छ ।
वन कार्यालयको तथ्यांकअनुसार २०८० सालमा १४५ किलो संकलन भएको सतुवाको २०८१ सालमा १० किलो मात्रै निकासी भएको देखिन्छ । आइयूसीएनले समेत संवेदनशील रैथाने वनस्पति भनेर रेड लिस्टमा राखेको सतुवा बझाङमा खतराउन्मुख रहेको वन कार्यालयको तथ्यांकले पनि देखाउँछ । पछिल्लो समय उत्पादन घटेको जडीबुटीमा बहुमूल्य कटुकी पनि पर्छ । आव २०७६/०७७ सालसम्म वार्षिक ४८ हजार किलो निकासी हुने कटुकी २०८१/०८२ मा जम्मा ४ हजार ५ सय किलो मात्रै संकलन भएको छ ।
जिल्लामा सबैभन्दा बढी निकासी हुने सेतकचिनीको उत्पादन परिमाण पनि घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ । २०७९ सम्म वार्षिक ६० हजार किलोसम्म निकासी भएको सेतकचिनी २०८१ मा आइपुग्दा २४ हजार किलोमा झरेको छ ।
यसबाहेक बझाङमा पदमचाल, विषजरा, बोझो, भृगीराज, भोजपत्र, लोक्ता, लौंठ सल्ला, सुगन्धवाललगायत ४० प्रकारका जडीबुटी ठूलो परिमाणमा संकलन हुने गरेका छन् । यो सबै जडीबुटी कच्चा पदार्थको रुपमा जिल्ला बाहिर निकासी हुन्छ । पछिल्ला वर्षको निकासी विवरणले यो घटेको देखाउँछ । २०६५ देखि २०७५ सम्म ४० प्रकारका जडीबुटी निकासी हुने गरेकोमा वर्सेनि घट्दै गएर २०८२ सम्म आइपुग्दा २५ प्रकारका जडीबुटीको मात्रै निकासी भएको देखिन्छ ।
हिमाली जडीबुटीहरुको अनुसन्धान र दिगो व्यवस्थापनमा काम गरिरहेको संस्था दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) ले गरेको एक अध्ययनले हिमाली भेगका स्थानीयको वार्षिक आम्दानीको ४० प्रतिशत हिस्सा जडीबुटीले ओगट्ने गरेको र उत्पादन घट्दा जडीबुटीकै भरमा जीविका गर्नेहरुलाई समस्या हुने गरेको देखिएको एन्साबका जडीबुटीविज्ञ दिपेश प्याकुरेल बताउँछन् ।
अत्याधिक दोहन, फँडानी र फोहोर
अनुभवी संकलकहरुका भनाइमा अत्याधिक, बेमौसमी र मनपरी (अवैज्ञानिक) तरिकाले गरिएको संकलनका कारण उत्पादन घटेको हो । सूर्माका दिलबहादुर बोहराको भनाइमा वनलसुनबाट मात्रै एक सिजनमा एकै जनाले ३/४ लाख रुपैयाँ कमाउँथे । ‘अब त पाउनै छाड्यो । धेरै पाउनेले १५/२० हजार कमाउलान् । नत्र त्यति पनि पाइदैन,’ असार अन्तिमतिर बीउ पाकेर झरिसके पछि संकलन गर्नुपर्ने वन लसुन, सतुवा जस्ता जडीबुटी वैशाखको सुरुदेखिनै खन्न थालिएका कारण लोप हुन लागेको बताउँदै बोहराले भने, ‘हामीले आफ्नै पेटमा आफैले लात हान्यौं । फल पाकेर झरे पछि निकालेको भए अर्काे वर्षलाई पनि हुँदो हो । यहाँ उम्रिन नपाउँदै खन्न थालिहाल्छन् । कसले भनेको कसले मान्ने ?’
संकलकहरुका भनाइमा यार्साको उत्पादन घट्नुको प्रमुख कारण जथाभावी खनेर निकाल्नु हो । बोलिचालीको भाषामा झाडु लाउने, चाड्ने भनिने यस विधी अनुसार संकलकहरुले यार्सा खोज्दा जमिनको सतहमा भएका घाँसपातहरु हात, कुटो वा अन्य औजार प्रयोग गरेर हटाउने र जमिनमूनिको माटो समेत खन्ने गरेका कारण अब यो पाइन छाडेको हो । ‘जमिनलाई छोपेको घाँसपात (खासगरी बुकी) सबै हटाएर माटो खन्दा यार्सा नभइ सकेका जिउँदा किराहरु पनि बाहिर आउँछन्,’ तल्कोट–४ लोकण्डका एक जना संकलक जयबहादुर रोकाया भन्छन्, ‘किरो (लार्भा) नै माटो बाहिर आएपछि जुणी (टुप्पो) पलाउनै पाउँदैन । पछि यार्सा बन्ने किरा पहिल्यै निकालेर मारिदिएपछि अर्काे जन्मिनै पाउँदैन ।’
यार्सागुम्बा र हिमाली जडीबुटीबारे लामो समय अध्ययन गरेका वातावरण विज्ञानका अनुसन्धाता उत्तमबाबु श्रेष्ठका भनाइमा ‘अरु कारणसँगै पछिल्ला वर्षहरुमा घट्दो र अनियमित हिउँदे वर्षा र बढ्दो तापक्रमले हिमाली क्षेत्रको समग्र जैविक विविधता नै प्रभावित भएको छ । यसको असर जडीबुटीमा त पर्ने नै भयो ।’
यार्सालगायत जडीबुटीको उत्पादनमा कमी आउनुको अर्काे कारण वनजंगलको व्यापक विनास पनि हो । बझाङका हिमाली भेगमा रहेका जडीबुटी संकलन क्षेत्रमा १० वर्ष पहिला र अहिले हेर्ने हो भने वनजंगल फँडानीको अवस्था कहाली लाग्दो छ । ‘पहिला आाखाले हेरर नभ्याउने जंगल भएका ठाउँमा अहिले कान कोट्याउने सिन्को पनि छैन, पूरै सखाप भएको छ,’ साइपाल गाउँपालिका देवेन्द्र धामीले भने ‘जंगल हुँदा धुपी, चिमालोका झाडीमूनि प्रशस्त किरा (यार्सा) भेटिन्थे । सतुवा त झन् जंगल नभएको ठाउँमा हुँदैहुँदैन ।’
यार्सा तथा अन्य जडीबुटी संकलकहरुले दाउराका लागि र भेडापालकले भेडालाई खुवाउन जंगल फँडानी गर्दा हिमाली क्षेत्रको वन सखाप भएको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले २०७९ मा गरेको अध्ययनले पनि यहाँको हिमाली वन व्यापक रुपमा विनास भइरहेको देखाएको थियो ।
इसिमोडले गरेको एक अध्ययनले पनि यार्सा संकलनका दौरान प्रतिदिन, प्रत्येक पालमा (सरदर ६ व्यक्ति)ले औसत १२ किलो दाउरा खपत गर्ने गरेको देखाएको थियो । प्रत्येक सिजनमा १५ हजार हाराहारीको संख्यामा संकलकहरु पाटन पुग्ने गर्छन् । उनीहरुले एक सिजन (वैशाख–असार) मा १ करोड ६० लाख किलो दाउरा खपत गर्ने गरेको अध्ययनले देखाएको छ । प्रतिवर्ष एक पछि अर्काे जंगल सखाप हुँदै जाँदा घना जंगलको ओतमा हुर्किने, सतुवा, वनलसुन, अतिस, सेतकचिनी जस्ता जडीबुटीहरु हराउँदै गएको संकलकको अनुमान छ ।
यार्सा तथा अन्य जडीबुटी संकलनका समयमा पाटनमा डढेलो लगाउने चलनले पनि जडीबुटीको उत्पादनमा गिरावट आएको संकलकहरु बताउँछन् । यार्सा बन्ने पुतलीको लार्भा घाँस (बुकीलगायत हिमाली झार)को मूनि बस्ने भएकोले डढेलो लगाउँदा सुकेको बुकी समेत जलेर नष्ट हुन्छ । यसले यार्सा बन्न चाहिने लार्भा समेत मार्ने गरेका कारण उत्पादन घटेको लामो समय यार्सा संकलनको अनुभव भएका साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीले बताए । ‘कोही घाँस हट्यो भने यार्सा पाइएला भनेर आगो लाउँछन् । कोही दिनभरी खोज्दा पनि पाइएन भने रिसले आगो लाइदिन्छन् । कुनैबेला चुरोटबिंडीका ठुटाबाट पनि आगलागी हुन्छ,’ धामीले भने, ‘आगलागी भएपछि पाटनमा भएका सबै जडीबुटी र बोटविरुवा पनि नष्ट हुने गरेका छन् ।’ हजारौंको संख्यामा संकलक पाटन जाने र धेरै ठूलो क्षेत्र भएकोले कसले कतिबेला आगो लगायो भन्ने थाहा नहुने उनको भनाइ छ ।
यसबाहेक जडीबुटी संकलन हुने हिमाली पाटनहरुमा थुप्रिँ
दै गएको फोहोर पनि यार्सालगायत जडीबुटीको उत्पादन घट्नुको कारक देखिन्छ । वर्सेनि हजारौंको संख्यामा त्यहाँ पुग्नेहरुले गर्ने फोहोरले पनि यार्सा र जडीबुटी उम्रिने बझाङका हिमाली पाटन प्रभावित छन् । संकलकहरुले बोकेर लगेको प्लाष्टिक, लुगा र मदिराका बोतलहरु जथाभावी फाल्दा पाटन क्षेत्र फोहोरले भरिएको छ । सिसा, पलाष्टिक र अन्य फोहोर भएको ठाउँमा जडीबुटी नउम्रिने संकलकहरु बताउँछन् ‘सिसा, प्लाष्टिकको त कुरै छोड्नुस् । कपडाको फाटो खसेको रहेछ भने पनि त्यहाँ यार्सा उम्रिदैन । फोहोर भएको ठाउँमा अरु जडीबुटी पनि हुँदैनन्,’ सूर्माकी कल्पना बोहराले भनिन् ।
बझाङका जडीबुटी संकलन क्षेत्रमा सालिन्दा थुप्रिँदै गएको फोहोरको मात्रा अस्वभाविक रुपमा बढ्दै गएको अध्ययनले पनि देखाएका छन् । इसिमोडले २०७९ सालमा बझाङको साइपाल गाउँपालिकाभित्र पर्ने यार्सा संकलन क्षेत्रमा गरेको अध्ययनले त्यो अवधिसम्म यहाँका पाटनहरुमा ४० हजार क्विन्टलभन्दा बढी फोहोर जम्मा भइसकेको र वर्सेनि थपिने क्रम बढेको देखाएको छ । अध्ययनमा इसिमोडसँग सहकार्य गरेको स्थानीय संस्था साहारा नेपालका दिनेश रोकाया भन्छन्, ‘अहिलेकै अनुपातमा फोहोर थपिँदै गयो भने केही वर्षभित्रै यार्सा मात्र होइन हिमाली पाटनमा पाइने सबै जडीबुटी हराउन सक्छन् ।’
यहाँ जडीबुटीको उत्पादन घट्नु र वन विनास हुनुको अर्काे कारण भेडापालन पनि हो । बझाङका हिमाली पाटनमा बर्खाको समयमा ठूलो संख्यामा भेडा चराउने गरिन्छ । हुम्ला, बाजुरा, मुगु र बझाङका २५ हजारभन्दा बढी भेडा चैतदेखि असोजसम्म यार्सा संकलन क्षेत्रमा राख्ने गरिन्छ । पाटनमा नै भेडाका अस्थायी गोठ लामो समयसम्म राख्दा उत्पादन घट्ने गरेको संकलकहरु बताउँछन् । ‘उम्रिन नदिने एउटा कारण त भेडा राख्नाले पनि हो,’ साइपालका धनलाल धामी भन्छन्, ‘भेडाको मलमुत्रले असर गर्छ कि के हुन्छ कुन्नी ? एक रात मात्रै भेडा बसेको ठाउँमा पनि धेरै वर्षसम्म यार्सा र अरु जडीबुटी भेटिँदैन ।’
हिमाली जडीबुटीको घट्दो उत्पादनले स्थानीयको निर्वाह प्रक्रिया नै खल्बलिएको बताउँदै वनस्पति संरक्षणविद् रेशु बस्याल भन्छिन्, ‘कतिपय संकलकलाई कसरी संकलन गर्दा वनस्पति जोगिन्छ भन्ने थाहा नै हुँदैन । त्यसैले सबै संकलक र व्यापारीलाई दोष दिएर मात्र समस्या समाधान हुँदैन । बरु अवैध संकलन कसरी घटाउने, स्थानीयको आयस्रोत बढाउने के विकल्प दिने र दिगो संकलन विधि कसरी लागु गर्ने भन्नेमा ध्यान दिन जरुरी छ ।’ डिभिजन वन कार्यालय बझाङका प्रमुख शम्भु तिवारी पालिका, संकलक, डिभिजन वन, निजी क्षेत्रले सबैले जडीबुटीको दिगो व्यवस्थापनको चिन्ता लिएर संयुक्त रुपमा सचेतना र नियमनको काम गर्न आवश्यक रहेको बताउँछन् ।
