‘गोप्य च्याट’बाहिरिएपछि विवादमा गायक सुजन चापागाईं

पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता सामाजिक सञ्जालमा चापागाईंका 'गोप्य च्याट' भन्दै विभिन्न स्क्रिनसट र भिडियोहरू सार्वजनिक भएका छन् ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

Singer Sujan Chapagain in controversy after 'secret chat' leaked

What you should know

काठमाडौँ — गायक सुजन चापागाईं किशोरीहरूसँग 'गोप्य च्याट' गरेको आरोपमा विवादमा तानिएका छन् । पछिल्ला केही दिनयता टिकटक, इन्स्टाग्राम र रेडिटजस्ता सामाजिक सञ्जालमा चापागाईंका 'गोप्य च्याट' भन्दै विभिन्न स्क्रिनसट र भिडियोहरू सार्वजनिक भएका छन् ।

जसमा दोहोरो अर्थ लाग्ने र अश्लील शब्दहरूको प्रयोग गरिएको छ । च्याट बाहिरिएसँगै टिकटकमा अन्य कतिपय किशोरीलेसमेत चापागाईंले इन्स्टाग्रामको 'भ्यानिस मोड' (म्यासेज हेरेपछि आफैं डिलिट हुने फिचर) अन गरेर आफूहरूसँग अश्लील कुराकानी गर्ने गरेको दाबी गरेका छन् ।

विवाद बढेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै चापागाईंले केही च्याट आफ्नै भएको स्विकारेका छन् । 'विगतमा आफू नजिक रहेका र आफूले नजिक ठानेका साथीहरूसँग म्यासेज आदानप्रदान गरेको कुरा सत्य हो,' विज्ञप्तिमा उनले भनेका छन्, 'जसबाट उत्पन्न दुःखद परिस्थितिका निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु ।' यद्यपि, सामाजिक सञ्जालमा आएका सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको उनको जिकिर छ ।

आफ्नो सामाजिक सञ्जाल एकाउन्ट आफूले मात्र नभई विभिन्न समयमा म्यानेजरहरूलेसमेत चलाउने गरेको उल्लेख गर्दै उनले कतैबाट दुरुपयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । 'मेरो सोसियल मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएको हुँदा विभिन्न कालखण्डमा सोसियल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेका थिए । सोही समयमा कहीँ कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ,' विज्ञप्तिमा भनिएको छ ।

हाल सांगीतिक कार्यक्रमका सिलसिलामा अस्ट्रेलियामा रहेका चापागाईंले यसलाई 'अनैतिक तथा अनुचित हर्कत' भन्दै आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएका छन् । अस्ट्रेलियाको सांगीतिक यात्रा सकिएलगत्तै नेपाल फर्केर यस विषयमा कानुनी उपचारमा जाने उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully