पाँचथर, इलाम र ताप्लेजुङका सामुदायिक तथा राष्ट्रिय वनमा जैविक मार्ग, वृक्षरोपण र संरक्षण शिक्षामा ६ करोड ५५ लाख रुपैयाँ लगानी हुँदैछ।
What you should know
पाँचथर — पूर्वी नेपालका तीन जिल्लामा संकटापन्न हाब्रे (रेडपान्डा) जोगाउने अभियान चलिरहेको छ । पाँचथर, इलाम र ताप्लेजुङ गरी तीन जिल्लामा हाब्रेको प्राकृतिक बासस्थान संरक्षण, टुक्रिएका वन क्षेत्र जोड्ने जैविक मार्ग विकास, आहाराका लागि बिरुवा रोप्ने, समुदायको जीविकोपार्जन सुधार र संरक्षण शिक्षामार्फत हाब्रेको भविष्य सुरक्षित गर्ने प्रयास भइरहेको हो ।
यी तीन जिल्लालाई संरक्षणकर्मीहरूले पिआइटी करिडोर भनेर अभियान चलाइरहेका छन् । यो वर्ष यस करिडोरमा समेटिएका तीन जिल्लाका ४२ सामुदायिक र दुईवटा राष्ट्रिय वन क्षेत्रमा हाब्रे संरक्षणकै लागि ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ खर्च गरिँदै छ । यी जिल्लाका उच्च पहाडी भेगमा पर्ने संरक्षण क्षेत्रमा यतिबेला हजारौं बिरुवा रोपिँदै छन् । ती बिरुवा हरियाली बढाउन मात्र नभएर हाब्रेको अस्तित्व संरक्षण गर्न नै हुन् ।
पिआइटी करिडोरमा संकटापन्न हाब्रेको पुरानो थातथलो संरक्षण, नयाँ बासस्थान निर्माण र संरक्षण अभियान चलिरहेको छ । निगालो, मालिङ्गो र भालुचिण्डे जस्ता यसका आहारा हुन् । त्यस्ता बिरुवा रोप्नेदेखि जैविक मार्ग पुनःस्थापना, वन अभिभावक परिचालन र समुदायको जीविकोपार्जन सुधारसम्मका कार्यक्रमले संरक्षण अभियानलाई समेटेका छन् ।
एकान्त र शान्त वातावरण मन पराउने हाब्रेका बासस्थान पछिल्ला वर्षमा खण्डीकरण हुँदै गएपछि संरक्षण अभियान चलाइएको संरक्षणकर्मीहरू बताउँछन् । 'कतै नयाँ–नयाँ सडक निर्माण गर्ने क्रममा जङ्गल मासियो त कतै वन क्षेत्रमा मान्छे र घरपालुवा कुकुरको अतिक्रमणले हाब्रेलाई अप्ठ्यारो परेको छ । कहीं भने जङ्गली जनावरकै आक्रमणले समेत यो प्राणीको अस्तित्व संकटमा पर्न थालेपछि दातृ निकायसँगै संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा संरक्षण अभियान थालिएको हो,' इलाम र पाँचथरको संरक्षण अभियानमा सक्रिय दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावा भन्छन् ।
बासस्थान जोगाउने मुख्य अभियान
रेडपान्डाले आहाराका रूपमा रुचाउने निगालो, मालिङ्गो र भालुचिण्डे जस्ता बिरुवाका लागि नर्सरी व्यवस्थापन, बिरुवा उत्पादन, रोपण र संरक्षण कार्यक्रम प्राथमिकतामा छन् ।
वन खण्डीकरणका कारण टुक्रिएका बासस्थानलाई पुनः जोड्न वृक्षरोपणलाई मुख्य रणनीति बनाइएको हो ।
दीपज्योतिका कार्यकारी निर्देशक बान्तावाका अनुसार यस वर्ष पाँचथरको फिदिम, फालेलुङ र याङवरकका उच्च पहाडी क्षेत्रमा पर्ने हाब्रे संरक्षण क्षेत्रमा मात्रै करिब ४० हजार बिरुवा रोपिँदै छन् ।
इलाममा गत वर्ष ७० हजार बिरुवा रोपिएको थियो । इलामको जौबारी क्षेत्रमा मात्रै ८ सय रोपनी जग्गामा वृक्षरोपण भइरहेको छ । 'जैविक मार्ग विकासका लागि उपयुक्त प्रजातिका बिरुवा रोप्ने र संरक्षण गर्ने काम भइरहेको छ । रेडपान्डा जोगाउन समुदाय स्तरबाटै सचेतना बढ्नु सबैभन्दा सकारात्मक पक्ष हो,’ बान्तावा भन्छन् । उनका अनुसार संरक्षण क्षेत्रमा बासस्थान संरक्षण, अध्ययन–अनुसन्धान र सचेतनामूलक कार्यक्रम एकसाथ अघि बढिरहेका छन् । हाब्रे संरक्षणलाई केवल वन्यजन्तु जोगाउने अभियानका रूपमा नभई समुदायको सहभागितासँग जोडिएको दीर्घकालीन प्रयासका रूपमा हेरिएको छ ।
समुदायलाई संरक्षणको अग्रपंक्तिमा
संरक्षण अभियानलाई समुदायकै अभियान बनाउने प्रयास गरिएको छ । हाब्रे पाइने क्षेत्रका स्थानीयलाई ‘वन अभिभावक’ र ‘नर्सरी नाइके’को जिम्मेवारी दिइएको छ । हाल तीन जिल्लामा ३० जना वन अभिभावक उत्पादन भएका छन् ।
उनीहरूले समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतना फैलाउने, रेडपान्डाको अवस्थाबारे निगरानी गर्ने र वन व्यवस्थापनमा सहजीकरण गर्ने काम गरिरहेका छन् । संरक्षणकर्मीले उनीहरूलाई ‘स्थानीय वैज्ञानिक’का रूपमा परिभाषित गरेका छन् । यस्तै १२ जना नर्सरी नाइकेले बिरुवा उत्पादन, नर्सरी व्यवस्थापन र संरक्षणको जिम्मेवारी सम्हालिरहेको रेडपान्डा नेटवर्कले जनाएको छ ।
वनमाथिको निर्भरता घटाउन रेडपान्डा पकेट क्षेत्रका घरधुरी लक्षित सौर्य ऊर्जा वितरण, नर्सरी व्यवस्थापन तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहेका छन् । यस अभियानलाई निरन्तरता दिइन थालेपछि समुदाय पनि यो जीवको संरक्षणमा सक्रिय भएको छ ।
‘पहिले हाब्रे देख्दा अनौठो लाग्थ्यो, समाउन र खेलाउन खोज्थ्यौं, कसैले मारेर मासु नै खाइदिन्थे । आजकल यो प्राणी जहाँसुकै भेटे पनि संरक्षण गर्छौं, अप्ठ्यारोमा परेको भेटे उद्धार गरेर संरक्षण क्षेत्रमा लगेर छोड्छौं,’ फालेलुङ–४ का वीरमान राई भन्छन् । पछिल्लो चार वर्षयता विभिन्न स्थानमा भेटिएका तीनवटा हाब्रे उद्धार गरेर वन कार्यालय र संरक्षणकर्मीलाई जिम्मा लगाएको पनि उनले सुनाए ।
१८ वर्षदेखि निरन्तर
हाब्रे समुद्री सतहबाट करिब २२०० देखि ४८०० मिटर उचाइसम्म फैलिएको चिसो समशीतोष्ण वनमा बसोबास गर्छन् । नेपालमा यो प्राणी २४०० देखि ४००० मिटर उचाइसम्म भेटिने गरेको छ ।
हाब्रेलाई ठाउँअनुसार फरक–फरक नामले बोलाइन्छ । नेपालीहरूले पुडेकुँदो वा हाब्रे भन्छन् भने यसको अंग्रेजी नाम रेडपान्डा हो । पिआइटी करिडोरमा समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सुरु भएको १८ वर्ष पुगेको छ । अहिले यो कार्यक्रम नेपालका १३ जिल्लामा विस्तार भइसकेको छ ।
रेडपान्डा नेटवर्कका परियोजना संयोजक वाङचु भुटिया वन व्यवस्थापन, अनुसन्धान, विद्यालय शिक्षा, बासस्थान व्यवस्थापन तथा पुनःस्थापना कार्यक्रम प्राथमिकतामा रहेको बताउँछन् । उनका अनुसार वृक्षरोपण, संरक्षण शिक्षा र अध्ययन–अनुसन्धानलाई एकअर्कासँग जोडेर कार्यक्रम सञ्चालन गरिँदा संरक्षण अभियान थप प्रभावकारी बन्दै गएको हो ।
यो वर्ष ६ करोड खर्च गरिँदै
पिआइटी करिडोरमा संरक्षण कार्यक्रमको दायरा विस्तारसँगै लगानी पनि बढाइएको छ । सन् २०२६ मा इलाम, पाँचथर र ताप्लेजुङका ४२ सामुदायिक वन र दुई राष्ट्रिय वन क्षेत्रमा रेडपान्डा संरक्षणका लागि ६ करोड ५५ लाख ५३ हजार २२७ रुपैयाँ बजेटको सीमा निर्धारण भएकोमा सोही परिधिभित्र रहेर कार्यक्रमहरू अगाडि बढिरहेका छन्।
पाँचथर जिल्लामा मात्रै गत वर्ष (सन् २०२५ मा) ७१ लाख ९८ हजार रुपैयाँ खर्च गरिएको थियो । यो वर्ष १ करोड ६३ लाख २४ हजार रुपैयाँ विनियोजन भएर काम अघि बढिरहेको दीपज्योति युवा क्लबकी लेखा अधिकृत सरस्वती न्यौपाने बताउँछिन् । उक्त बजेट वृक्षरोपण, अनुसन्धान, विद्यालय शिक्षा, समुदाय परिचालन, जैविक मार्ग विकास र बासस्थान संरक्षणमा खर्च गरिँदै छ ।
नेपालका ७५ प्रतिशत हाब्रे संरक्षित क्षेत्रबाहिर
नेपालका २५ जिल्लामा हाब्रे पाइने अध्ययनहरूले देखाएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, भोजपुर, डोल्पा, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु र कालीकोटमा यसको उपस्थिति रहेको रेडपान्डा नेटवर्कले विभिन्न समयमा गरेका अध्ययनहरूले देखाएका छन् ।
नेपालका प्राकृतिक बासस्थानमा रहेका करिब ७५ प्रतिशत हाब्रे राष्ट्रिय निकुञ्ज, आरक्ष तथा अन्य संरक्षित क्षेत्रबाहिर बसोबास गर्छन् । यही कारण संरक्षण अभियानमा स्थानीय समुदायको भूमिका झन् महत्वपूर्ण बनेको छ।
संरक्षणकर्मीहरूका अनुसार हाब्रे जोगाउने अभियान केवल एउटा दुर्लभ वन्यजन्तु जोगाउने प्रयास मात्र होइन, हिमाली पारिस्थितिक प्रणालीको भविष्य सुरक्षित गर्ने अभियान पनि हो । विश्वमा १० हजार हाराहारी हाब्रे रहेको तथ्याङ्कहरूले देखाएका छन् ।
नेपालसहित चीन, भारत, भुटान र म्यान्मारमा यो जन्तु पाइन्छ । नेपालका प्राकृतिक बासस्थानमा रहेका अधिकांश हाब्रे संरक्षित क्षेत्रबाहिर बस्ने भएकाले यसको भविष्य सरकारी संरक्षण क्षेत्रभन्दा बढी स्थानीय समुदायको हातमा रहेको बताइन्छ । पिआइटी करिडोरमा वन अभिभावकहरू गाउँ–गाउँमा संरक्षणको सन्देश बोकेर हिँडिरहेका छन् । नर्सरीहरूमा हजारौं बिरुवा हुर्किरहेका छन् अनि पहाडका टाकुरामा फेरि निगालो र मालिङ्गाका नयाँ मुना उम्रिन थालेका छन् ।
जनप्रतिनिधिहरूले पिआइटी करिडोरमा चलिरहेको अभियानलाई हाब्रेको भविष्यसँग जोडिएको दीर्घकालीन लगानीका रूपमा हेर्ने गरेका छन् । फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले पिआइटी करिडोरमा हाब्रे संरक्षणका लागि कार्यक्रम सुरु भएपछि यसको संख्या बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको बताए । ‘पहिले चर्चा नै हुँदैनथ्यो, आजकल हाब्रे हेर्नकै लागि पनि डाँडा घुम्न आउनेको संख्या बढेको छ,’ उनले भने ।
