प्रहरीका अनुसार ३० वर्षीय आदित्य सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए ।
काठमाडौँ — आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच बनाउन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीले उनलाई काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए । उनले प्रहरीसँग सम्बन्धित कार्यमा खोधखोज गर्दै अधिकृतहरूसँग सम्पर्क गरेपछि खोजबिन गर्दा मन्त्रालयसँग सम्बन्धित नै नभएको खुलेको अधिकृतहरुको भनाइ छ ।
प्रहरीले उनले किन त्यसरी मन्त्रालयको परिचय दिए र त्यसको आवरणमा के-के गरे भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
