रोटरी इन्टरनेसनल डिस्टिक्ट ३२९२ का अनुसार कैनीले आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा र गहतराजले स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम/समाधान विधामा अवार्ड प्राप्त गरेका हुन् ।
What you should know
काठमाडौँ — कान्तिपुरकर्मी सुदीप कैनी र रुपा गहतराज ‘रोटरी जर्नो अवार्ड २०२६’ बाट पुरस्कृत भएका छन् ।
रोटरी इन्टरनेसनल डिस्टिक्ट ३२९२ का अनुसार कैनीले आधारभूत शिक्षा, साक्षरता तथा डिजिटल साक्षरता विधामा र गहतराजले स्थानीय शान्ति तथा द्वन्द्व रोकथाम/समाधान विधामा अवार्ड प्राप्त गरेका हुन् ।
कैनी काठमाडौंबाट शिक्षा, स्वास्थ्य लगायत सामाजिक तथा समसामयिक विषयमा समाचार लेख्छन् भने गहतराज कान्तिपुरका बाँके जिल्ला संवाददाता हुन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक समारोहमा अवार्ड वितरण गरिएको थियो । रोटरी जर्नो अवार्ड २०२६ का लागि विभिन्न विधामा ५० जना पत्रकार २५७ समाचारसहित प्रतिस्पर्धामा सहभागी भएका थिए । तीमध्ये विभिन्न विषयमा उत्कृष्ट सात जना पत्रकार अवार्डबाट सम्मानित भएका छन् ।
पत्रकारको मूल्यांकनका आधारमा छनोट गरिएको अवार्डबारे छनोट समितिका सदस्य पत्रकार तीर्थ कोइरालाले जानकारी दिए । अवार्ड प्राप्त पत्रकारलाई नगद ५१ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, यस वर्ष मातृ तथा शिशु स्वास्थ्य विधामा उकालो अनलाइनका संवाददाता सागर बुढाथोकी, खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा सुनसरीका पत्रकार विकल रेग्मी, रोग रोकथाम तथा उपचार विधामा ओखलढुंगाका पत्रकार सरोज ढुंगेल, वातावरण, जलवायु परिवर्तन तथा उत्थानशीलता विधामा सगरमाथा एफएम, काठमाडौंकी अर्वशी बस्न्यात तथा सामुदायिक र आर्थिक विकास विधामा पोखराका पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् । यसरी सात वटा विधामा अवार्ड वितरण गरिएको अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले बताए ।
रोटरी इन्टरनेसनल डिस्टिक्ट ३२९२ ले सन् २०११/१२ देखि पत्रकारहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । यो अवार्ड यसअघि वरिष्ठ पत्रकार भैरव रिसाल र भारतदत्त कोइरालाले प्राप्त गरिसकेका छन् ।
रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको र त्यसलाई निरन्तरता दिइने रोटरी डिस्टिक्ट गभर्नर विनोद कोइरालाले बताए ।
आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा समाचार लेखनमार्फत योगदान पुर्याएका पत्रकारलाई योगदानको कदरस्वरूप पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको उनले जनाए।
