ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसूरमा शेर्पालाई शुक्रबार बुढानीलकण्ठ ६ गणेशचोकबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।
ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसूरमा शेर्पालाई शुक्रबार बुढानीलकण्ठ ६ गणेशचोकबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
शेर्पाविरुद्ध टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिको करिब ८ करोड ७८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट खाता सञ्चालन गर्ने जिम्मेवारीमा रहँदा विभिन्न प्रपञ्च गरी आफू र आफ्ना निकटस्थलाई लाभ तथा विद्यालयलाई अनुचित नोक्सानी पुर्याउने नियतले काम गरेको आरोप छ । उनले विद्यालयको ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
यस्तै, भक्तपुरको साविक दधिकोट गाविस–२ मा रहेको विद्यालयको करिब २९ रोपनी ४ आना २ पैसा १ दाम जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको तथा विद्यालयका लागि सवारीसाधन खरिद गर्न छुट्याइएको रकमबाट व्यक्तिगत तथा सम्बद्ध कम्पनीका नाममा जग्गाजमिन र सवारीसाधन खरिद गरेको आरोप पनि उनीमाथि लगाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
