व्यवसायी अजेयराज सुमार्गीमाथि विस्तृत अनुसन्धान सुरु, राहदानी रोक्का

अजेयराज सुमार्गीले ‘ट्याक्स हेवन’ (करका लागि अनुकूल स्थान) मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सजस्ता देशबाट करिब १ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भनी भित्र्याएर सम्पत्ति शुद्धीकरण गरेको आरोप।

असार १२, २०८३

यज्ञ बञ्जाडे

Detailed investigation launched against businessman Ajayraj Sumargi, passport withheld

What you should know

काठमाडौँ — व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान सुरु गर्दै उनको राहदानी रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले उनको राहदानी रोक्का राखेको हो । 

सुमार्गीले ‘ट्याक्स हेवन’ (करका लागि अनुकूल स्थान) मानिने साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्समा फर्जी कम्पनी खडा गरी प्रत्यक्ष वैदेशिक लगानी ल्याई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीमाथि २०७४ मा अनुसन्धान सुरु भएको थियो । प्रारम्भिक अध्ययनमै कैफियत भेटिएपछि उनीमाथि विस्तृत अनुसन्धान गर्ने भनिएको थियो ।

तर राजनीतिक पहुँचमा उनीमाथि अनुसन्धान अघि बढ्न सकेको थिएन । अहिले विभागले त्यही विषयमा  विस्तृत अनुसन्धान अघि बढाएको हो । त्यही क्रममा उनको पासपोर्ट रोक्काका लागि अध्यागमनमा पठाइएको विभागका एक अधिकारीले जानकारी दिए । ‘विभागको आग्रहमा मंगलबार अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको छ,’ ती अधिकारीले कान्तिपुरलाई भने । 

२०७४ मा गरिएको प्रारम्भिक अध्ययनमा सुमार्गीले विदेशबाट ल्याएको र ल्याउन लागेको रकमको स्रोत नखुलेको जनाउँदै ‘अवैध’ रहेको निष्कर्ष निकालिएको थियो । सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको सीआईबीलगायत निकायका अधिकारीहरूको प्रारम्भिक अध्ययनमा सुमार्गीको कारोबार शंकास्पद देखिएको भन्दै विभागका महानिर्देशक समक्ष प्रतिवेदन बुझाइएको थियो ।

सुमार्गीले विदेशबाट ल्याएको करिब साढे ३ अर्ब रुपैयाँलाई नेपाल राष्ट्र बैंकले पनि ‘शंकास्पद’ भन्दै निकासा रोकिदिएको थियो । सुमार्गीले वैधानिक कागजात पेस गर्न नसक्दा विभिन्न वाणिज्य बैंकमा रहेको रकम राष्ट्र बैंकले ‘सिज’ गरेको थियो । तर २०७५ पछि ती बैंकबाट सुमार्गीले रकम झिकिसकेको सम्बन्धित बैंक स्रोतहरूले जनाएका छन् ।

२०७४ अघि उनले करिब साढे ८ अर्ब रुपैयाँ झिकेर प्रयोग गरिसकेका थिए । पछि तीन अर्ब रुपैयाँ पनि निकासा गराउन उनी सफल भएका थिए । यस आधारमा उनले विभिन्न देशबाट करिब ११ अर्ब रुपैयाँ भित्र्याएका छन् । सुमार्गीले साइप्रसको एयरवेल सर्भिसेज प्रालि, ब्रिटिस भर्जिन आइल्यान्ड्सको जोधार इन्भेस्टमेन्ट प्रालिबाट बढी रकम भित्र्याएको विभागको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो । विभागसम्बद्ध स्रोतका अनुसार यही रकमका विषयमा अनुसन्धानलाई तीव्रता दिइएको हो । 

खोज पत्रकारिता केन्द्र (खोपके) र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले माघ २०७५ मा सार्वजनिक गरेको विवरणअनुसार सुमार्गीले विदेशस्थित विभिन्न कम्पनीमा पनि लगानी गरेका थिए । ‘साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो,’ नेपालिक्स नाम दिइएको खुलासामा भनिएको थियो । सुमार्गीले यही कम्पनीबाट विदेशी लगानी भन्दै सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुने विभागले जनाएको छ । 

सन् २००८ देखि २०१३ सम्म सुमार्गीले ९ पटकमा ६ करोड ३१ लाख ८५ हजार ५ सय ३३ अमेरिकी डलर एयरवेलबाट आफ्ना नेपाली कम्पनीमा रकम भित्र्याएको अनुसन्धानमा देखिएको थियो । सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करिब ६ करोड अमेरिकी डलर अहिलेसम्म नेपाल भित्र्याइसकेका अनुसन्धानले देखाएको थियो ।

पुस २०७४ मा तयार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक अध्ययन प्रतिवेदनले उक्त रकम अवैध भएको निष्कर्ष निकालेको थियो । तर सुमार्गीले आफ्नो रकम औपचारिक विदेशी भएको दाबी गर्दै आएका थिए । विभिन्न विदेशी कम्पनीसँग सुमार्गीको सम्बन्ध रहेको त्यतिबेलै खुलेको थियो ।

जसअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्यान्ड्सको बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रस्ट’ ले जोधार इन्भेस्टमेन्ट कम्पनी दर्ता गरिदिएको थियो । त्यसका एक लगानीकर्ता सुमार्गी रहेको र अर्का लगानीकर्ता उनकै कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर अर्जुन शर्मा रहेको अनुसन्धानले देखाएको छ ।

त्यही जोधार इन्भेस्टमेन्टबाट २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार २ सय २२ अमेरिकी डलर सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भित्र्याएका थिए । जोधारले सन् २०१३ नोभेम्बर २२ मा १ हजार ६० कित्ता सेयर ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएको वर्ल्ड वाइड इन्क्रेडिबललाई हस्तान्तरण गरेको बताइएको छ । वर्ल्ड वाइड सोही दिन सुमार्गीका नाममा दर्ता रहेको एयरवेल सर्भिसेजको पनि अंशियार भएको थियो । यसका लगानीकर्ता भने सुमार्गी रहेको खोज पत्रकारिता केन्द्र (खोपके) र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे) ले पुष्टि गरेका थिए । 

यस्तै, सुमार्गीले नेपालमा कर छली गरेको उदाहरण पनि छ । महालेखा परीक्षकको ५४ औं प्रतिवेदनअनुसार दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छली गरेका छन् । महालेखाको सो प्रतिवेदनअनुसार उनले नेपाल र विदेशमा रहेका कम्पनीहरूबीच सेयर बिक्री गर्ने नाममा कुल १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कर छली गरेका हुन् ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully