१७ दिनअघि कीर्तिपुरबाट हराएका रेबन्तको अवस्था अझै अज्ञात

रेबन्त विष्ट हराएकै भोलिपल्ट अर्थात् जेठ २६ गते भाइ छत्र विष्टले प्रहरी वृत्त कीर्तिपुरमा खोजतलासका लागि निवेदन दिएका थिए । तर, प्रहरीको सुस्त अनुसन्धान प्रक्रियाले परिवारमा छटपटी बढाएको छ ।

असार ११, २०८३

मेनुका ढुंगाना

The condition of Rebant, who went missing from Kirtipur 17 days ago, is still unknown.

What you should know

अछाम — जेठ २५ गते सोमबारदेखि अछामको मंगलसेन नगरपालिका–५ मा रहेको एक परिवारको भोक र निन्द्रा हराएको छ । लोकसेवा आयोगको परीक्षा तयारीका लागि ३ वर्षदेखि काठमाडौंको कीर्तिपुरमा डेरा गरी बस्दै आएका ३० वर्षीय रेबन्त विष्ट एकाएक बेपत्ता भएपछि उनको परिवार छट्पटी र आँसुमा डुबेको छ ।

बिहीबार (आज) उनी हराएको १७ दिन भएको छ । उनी कहाँ र कस्तो अवस्थामा छन् भन्ने सामान्य सुइँको समेत कसैले पाउन सकेको छैन । पछिल्ला १७ दिनयता  उनकी आमा सुरजादेवी विष्ट, बुबा प्रेम विष्ट र बहिनी जानकी कतैबाट रेबन्त भेटिएको सुखद खबर आउला कि भनेर बाटो हेरिरहेका छन् । 

छोराको चिन्ताले पिरोलिएकी आमा सुरजादेवी विष्ट बेलाबेलामा मुर्छित पर्छिन् । होस् खुल्दा उनको मुखबाट एउटै शब्द निस्किन्छ, ‘जेठो छोरो फर्किएला, बुढेसकालको लौरी बन्ला भन्ने आशा थियो । तर कता हरायो हरायो ? मलाई बाँच्न कठिन भइसक्यो । सरकारले मेरो छोरो खोजिदिए हुन्थ्यो ।’ आमाको रोदनले गाउँ नै स्तब्ध छ । मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका बुबा प्रेम विष्टको अवस्था झनै नाजुक छ । ओछ्यान परेका बुबा र  मुर्छित भइरहने आमाको छटपटी र रोदनबीच रेबन्तका भाई छत्र विष्ट भने दाइको खोजीमा काठमाडौैका गल्ली, प्रहरी चौकी र सम्भावित ठाउँहरूमा भौंतारिइरहेका छन् ।

काठमाडौंमा रहेका छत्रले प्रहरी, स्थानीय र साथीभाइको दैलो टेक्न बाँकी राखेका छैनन् । प्रहरीका अनुसार रेबन्तको मोबाइलको अन्तिम लोकेसन सीतापाइला क्षेत्रमा देखिएको थियो । त्यसपछि उनको फोन बन्द छ । ‘कीर्तिपुर वृत्तमा खोजीदिन भन्दै निवेदन दर्ता गराएँ । त्यहाँका डिएसपी र प्रहरी परिसर भद्रकालीका प्रहरीले काठमाडौं बाहिरका प्रहरी चौकी र कार्यालयहरूमा इमेल पठाइदिन्छौं भनेर आश्वासन दिएका थिए,’ छत्रले भने, ‘पछि आफैं चितवन र हेटौंडा प्रहरी कार्यालयमा बुझ्न जाँदा कुनै इमेल र खबर पुगेको रहेनछ । उनीहरूले हामी सक्दैनौं, गर्दैनौं भनिदिएको भए हुन्थ्यो । आश्वासन मात्रै दिए ।’The condition of Rebant, who went missing from Kirtipur 17 days ago, is still unknown.

प्रशासनको ढिलासुस्ती र बेवास्ताले आजित छत्रले थपे, ‘धेरैले गृहमन्त्रीसम्म यो कुरा पुर्‍याउनुपर्छ भन्छन् ।गृहमन्त्रीलाई पटकपटक भेट्न खोज्दा समय पाइएन । जसको मान्छे पावर र पहुँचमा छ, उसैले मात्र प्रहरी प्रशासन र राज्यबाट सहयोग पाउँदो रहेछ भन्ने अहिले भोग्दै छु । हामीजस्ता गरिब र पहुँच नभएकाहरूको त आवाज सुनिदिने कोही पनि नहुने रहेछ ।’ 

उनले कीर्तिपुर र सीतापाइला क्षेत्रका सीसीटीभी फुटेजहरू हेरिदिन पटकपटक आग्रह गर्दा पनि प्रहरीले प्राविधिक बहानाबाजी बनाएर टारेको गुनासो गरे । ‘कतिपय ठाउँमा सीसीटीभी काम गर्दैन भन्छन् । कतिले ३ दिन र ७ दिनसम्मको मात्र रेकर्ड रहन्छ भनेर जवाफ दिन्छन् । कोठाबाट बाहिर निस्केदेखि दाइ कहाँ–कहाँ गए, त्यो सीसीटीभी फलो गरिदिनुस् भन्दा पनि प्रहरीबाट कुनै ठोस सहयोग पाइएन ।’

दाइको खोजीमा लाग्दा छत्रसँग भएको पैसा सकिन लागिसक्यो । आफन्त र साथीभाइबाट भएको सहयोगसम्म गर्दा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले बताए । ऋण काढेर दाइको खोजी गरिरहेका छत्रसँग अब थप उपाय बाँकी छैन । ‘आमाबुबा घरमा तड्पिरहनुभएको छ । यता म ऋण खोज्दै दाइको खोजीमा भौंतारिरहेको छु । सुरुका २–३ दिन सबैले लागेजस्तो गरे, अहिले कोही छैनन्, ’ उनले भने, ‘अझै मसँग भएको बाइक र ल्यापटप बेचेर कति दिन टिक्न सकिन्छ हेर्छु । यसपछि पनि केही भएन भने घर फर्कनुको विकल्प छैन । यतिका दिनसम्म कतैबाट केही पत्ता नलाग्दा मलाई असाध्यै एक्लो र कमजोर महसुस भइरहेको छ ।’

पढाइमा तीक्ष्ण रेबन्त कक्षा १० सम्म सधैं प्रथम हुन्थे । उनले धनगढी गएर विज्ञान विषय पढ्ने आँट गरे पनि गरिबीका कारण निरन्तरता दिन सकेनन् । निराश भएर घर फर्किए । पछि भाइ छत्रले काठमाडौंमा पठाओ र याङ्गो चलाएर कमाएको पैसाबाट उनलाई कीर्तिपुरमा राखेर लोकसेवाको तयारी गराउन थालेका थिए । यसबीचमा उनीहरूले धेरै ठाउँमा काम खोजे तर कतै पाएनन् । 

रेबन्त हराएकै भोलिपल्ट अर्थात् जेठ २६ गते छत्रले प्रहरी वृत्त कीर्तिपुरमा खोजतलासका लागि निवेदन दिएका थिए । तर,  प्रहरीको सुस्त अनुसन्धान प्रक्रियाले परिवारको छटपटी झन् बढाएको छ । प्रहरी वृत्त कीर्तिपुरका डीएसपी शिवकुमार बुढाथोकीले भने खोजी निरन्तर जारी रहेको बताए । ‘खोजतलास जारी राखेका छौं । पीडितका आफन्तहरूलाई साथमै लिएर नागार्जुन, सीतापाइला, फर्पिङलगायतका सबै सम्भावित ठाउँहरूमा खोजी गरिसकेका छौं । प्राविधिक पाटो (टेक्निकल) बाट पनि अनुसन्धान गरिरहेका छौं, ’ डीएसपी बुढाथोकीले भने ।  

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully