नेपाल–चीन सीमा सुरक्षा बैठक : तातोपानी नाका सहज सञ्चालनदेखि सीमा सुरक्षासम्ममा चिनियाँ चासो

चीनको झाङ्मु (खासा)स्थित न्यालम अध्यागमन निरीक्षण केन्द्रको प्रशासनिक भवनमा सम्पन्न बैठकमा तातोपानी नाकाको सहज सञ्चालन, वर्षायाम नजिकिँदै गर्दा विपद् जोखिम न्यूनीकरण तथा सीमा क्षेत्रको पूर्वतयारीका विषयमा विशेष रूपमा छलफल भएको थियो ।

असार १०, २०८३

अनिश तिवारी

Nepal-China border security meeting: Chinese interest ranges from smooth operation of Tatopani border checkpoint to border security

What you should know

सिन्धुपाल्चोक — नेपाल–चीन सीमा सुरक्षा तथा ‘क्रस बोर्डर क्राइम’ नियन्त्रणसम्बन्धी संयुक्त बैठकमा दुवै पक्षले सीमा सुरक्षा, विपद् पूर्वतयारी, व्यापार सहजीकरण र सूचना आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेका छन् । बुधबार चीनको झाङ्मु (खासा)स्थित न्यालम अध्यागमन निरीक्षण केन्द्रको प्रशासनिक भवनमा सम्पन्न बैठकमा तातोपानी नाकाको सहज सञ्चालन, वर्षायाम नजिकिँदै गर्दा विपद् जोखिम न्यूनीकरण तथा सीमा सुरक्षासम्बन्धी विषयमा छलफल भएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार बैठकमा सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाउने सहमति भएको छ । 'सीमा सुरक्षा व्यवस्थापन, विपद् पूर्वतयारी, व्यापार र पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भयो,' उनले भने ।

बैठकमा न्यालम अध्यागमन निरीक्षण केन्द्रका उपकमाण्डर एसपी लिउ हानवु र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी घिमिरेले आ-आफ्नो धारणा राखेका थिए । चीनले आफुखुसी मितेरी पुलमुनि बनाइरहेको तटबन्ध संरचना र भत्किएको सहायक पिल्लरसहित अन्य सीमा सुरक्षाबारे छलफल भएको थियो । विशेषगरी चिनियाँ प्रतिनिधिले तेस्रो मुलुकबाट हुने नागरिक आगमनप्रति विशेष चासो देखाएर सर्तकता अपनाउन आग्रह गरेका थिए ।

छलफलका क्रममा संयुक्त गस्ती (ज्वाइन्ट पेट्रोलिङ), सीमा स्तम्भ संरक्षण, तस्करी नियन्त्रण, गैरकानुनी आवागमन रोकथाम तथा सीमा सुरक्षासम्बन्धी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको थियो । साथै विपद्का बेला छिटो सूचना आदान–प्रदान गर्ने संयन्त्र सुदृढ बनाउने, पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने तथा सीमा क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकता दिने विषय पनि उठान गरिएको थियो । नेपाली पक्षले तातोपानी नाकाबाट हुने निर्यातलाई प्राथमिकता दिन, कन्टेनर व्यवस्थापन सहज बनाउन तथा विपद्का समयमा दुवै देशबीचको समन्वय प्रणालीलाई थप प्रभावकारी बनाउन आग्रह गरेको थियो । बैठकमा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काजीकुमार आचार्य, सशस्त्र प्रहरी बलका एसपी हरिकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सुभाष कार्की, अध्यागमनका प्रमुख पदमराज तिमल्सिना तथा भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

चीनका तर्फबाट न्यालम अध्यागमन निरीक्षण केन्द्रका कमाण्डर एसएसपी झोउ योङजुन, उपकमाण्डर एसपी लिउ हानवु, सीमा सुरक्षा तथा प्रहरी सहकार्य शाखाका प्रमुख डीएसपी दुन झुलगायत अध्यागमन र सुरक्षा निकायका अधिकारी सहभागी थिए । 'बैठक आपसी सद्भाव र सहयोगको वातावरणमा सम्पन्न भएको छ, नाकाबारे महत्त्वपूर्ण छलफल भएको छ,' तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाले भने ।

चिनियाँ पक्षले खासा क्षेत्रमा सञ्चालन भइरहेको पुनर्निर्माण तथा हालै न्यालम–खासा क्षेत्रको पूर्वाधार र नाका सञ्चालनमा पारेको प्रभावबारे पनि जानकारी गराएको थियो ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully