मनसुन अपरेसनमा डुअल–पाइलट नियमलाई लिएर नेपालमा नियामक र वायुसेवा क्षेत्रबीच विवाद

प्राधिकरणले लागू गरेको ‘मनसुन सर्कुलर–२०२६’ मा हेलिकप्टरको स्लिङ फ्लाइट (बाहिर सामान झुन्ड्याएर गरिने उडान) मा समेत दुई जना पाइलट (डुअल पाइलट) अनिवार्य गरेपछि निजी क्षेत्र असन्तुष्ट बनेको हो ।

असार १०, २०८३

सुरज कुँवर

Dispute between regulators and airline industry in Nepal over dual-pilot rule in monsoon operations

What you should know

काठमाडौँ — मनसुनको समयमा हुने हवाई जोखिम न्यूनीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्याएको नयाँ सुरक्षा नीतिलाई लिएर नियामक र हेलिकोप्टर सञ्चालकहरूबीच प्राविधिक मतभेद देखिएको छ ।

प्राधिकरणले लागू गरेको ‘मनसुन सर्कुलर–२०२६’ मा हेलिकप्टरको स्लिङ फ्लाइट (बाहिर सामान झुन्ड्याएर गरिने उडान) मा समेत दुई जना पाइलट (डुअल पाइलट) अनिवार्य गरेपछि निजी क्षेत्र असन्तुष्ट बनेको हो ।

वायुसेवा सञ्चालक संघ नेपालले यो प्रावधान अव्यावहारिक रहेको दाबी गर्दै यसलाई पुनर्विचार गर्न र पुरानै एकल–पाइलट (सिंगल पाइलट) प्रणाली कायम गर्न प्राधिकरणसँग पत्रमार्फत औपचारिक माग गरेको छ ।

नेपालमा प्रि–मनसुन र मनसुनको अवधिमा भारी वर्षा, चट्याङ, विन्डसियर (हावाको गति र दिशामा आउने आकस्मिक परिवर्तन), न्यून दृश्यता र हिमाली क्षेत्रमा आइसिङ (बरफ जम्ने समस्या) जस्ता चुनौती थपिन्छन् । यीनै जोखिमका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले जेठ २० मा विशेष हवाई सुरक्षा निर्देशन स्वीकृत गरी असार १ गतेदेखि मनशुन अवधिका लागि नयाँ व्यवस्था लागू गरेको थियो ।

तर निजी हेलिकप्टर सञ्चालकहरूले स्लिङ अपरेसनजस्तो छोटो दूरी र निश्चित समयको उडानमा दुई पाइलट राख्ने नियम अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको तर्क गरेका छन् । ‘सीमित क्षमताको हेलिकप्टरमा अतिरिक्त पाइलट राख्दा वजन बढ्ने, कार्गो बोक्ने क्षमता घट्ने र ककपिटभित्र समन्वय झन् जटिल भई पाइलटको कार्यभार थपिन्छ,’ स्लिङ उडान गर्दै आएको एक हेलिकोप्टर कम्पनीका सञ्चालकले कान्तिपुरसँग भने ।

संघले प्राधिकरणलाई लेखेको पत्रअनुसार नेपालमा बढी प्रयोग हुने एच१२५ (एएस ३५० बीथ्रीई) सिरिजका हेलिकप्टरहरू एकल पाइलटले नै बाह्य भार (एक्सटर्नल लोड) बोक्न सक्ने गरी विश्वव्यापी रूपमा प्रमाणित भएको जनाउँदै भनेको छ, ‘हेलिकोप्टरको उच्च सञ्चालन क्षमता, स्थिरता र नियन्त्रण क्षमताका कारण एकल पाइलटमार्फत यस्तो उडान सुरक्षित रूपमा सञ्चालन हुन्छ,’ संघले दाबी गरेको छ । संघले स्लिङ अपरेसनका अधिकांश उडान १० देखि १५ मिनेट अवधिका हुने भएकाले दोस्रो पाइलटको उपस्थिति प्रभावकारी नहुने दाबी गरेको छ ।

पत्रमा भनिएको छ, ‘छोटो अवधिका स्लिङ सटल उडानमा दोस्रो पाइलट थपिँदा ककपिट समन्वय र कार्यभार बढ्छ । जसले उडानका संवेदनशील चरणमा पाइलट–इन–कमाण्ड (क्याप्टेन)को ध्यान विचलित गराउन सक्छ ।’ हेलिकप्टर कम्पनीहरूको भनाइमा स्लिङ अपरेसनका क्रममा मुख्य जिम्मेवारी बाहिरी भार (एक्स्र्टनल लोड) को निगरानी, नियन्त्रण र सही स्थानमा सामग्री राख्ने कामसँग सम्बन्धित हुन्छ । जसका लागि हेलिकोपप्टरमा आवश्यक उपकरण र दृश्य प्रणाली मुख्य पाइलटतर्फ मात्रै उपलब्ध हुन्छ । 

संघका अध्यक्ष प्रतापजंग पाण्डेयले नेपाल नागरिरक उड्डयन प्राधिकरणलाई पठाएको पत्रमा यदी हालको व्यवस्था कायम रहे उच्च हिमाली क्षेत्रमा हुने निर्माण सामग्री ढुवानी, विकास निर्माणका काम तथा उद्धार उडानसमेत प्रभावित हुने उल्लेख गरिएको छ ।

तर प्राधिकरणले मनसुन सर्कुलर जारी गर्दा जोखिमपूर्ण मौसममा मानवीय त्रुटि घटाउन र हवाई सुरक्षालाई सुदृढ बनाउन नै यस पटक कडा मापदण्ड ल्याइएको जनाएको छ । उसले जल तथा मौसम विज्ञान विभागले मनसुन सकिएको घोषणा नगरेसम्म यो सर्कुलर कायम रहने भनेको छ ।

यो नयाँ नियमले पाइलट, फ्लाइट डिस्प्याचर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र अपरेसन कर्मचारी सबैलाई बाँधेको छ । यसका मुख्य व्यवस्थाहरूमा हेलिकोप्टरले उडान भर्नुअघि विमानको प्राविधिक अवस्था र न्यूनतम उपकरण सूची अनिवार्य जाँच गरेर मात्रै उडान गर्नुपर्ने छ । त्यस्तै विन्डशिल्ड वाइपर, एन्टी–स्किड, वेदर राडार, स्ल्याट्स– फ्ल्याप्स, इन्जिन रिभर्स थ्रस्ट र ग्राउन्ड प्रोक्सिमिटी वार्निङ सिस्टम पूर्ण रूपमा सञ्चालनमा हुनुपर्ने । 

यदि यीमध्ये कुनै एक प्रणाली उडानयोग्य नभएमा उडान अनुमति नदिइने व्यवस्था मनसुन सर्कुलरमा लेखिएको छ । त्यसैगरी यो अवधिमा उडान मार्ग र गन्तव्यको मौसमबारे पूर्ण जानकारी लिनुपर्ने हुन्छ । हेलिकप्टरका लागि पहाडी खोंचहरूमा सुरक्षित अवतरणका वैकल्पिक विकल्प पहिले नै पहिचान गर्नुपर्ने लगायतका मापदण्ड पालना गर्न वायुसेवा कम्पनी, पाइलट लगायत सरोकारवालालाई भनिएको छ ।

संघले मनसुनका बेला १७ हजार फिटभन्दा माथि गरिने पर्वतीय उद्धार तथा सामग्री ढुवानी उडान कार्यमा समेत नयाँ व्यवस्थाले असर पार्न सक्ने जनाएको छ । नेपालमा मनसुन अवधिमा खुम्बु, गोरखा, डोल्पा लगायतका हिमाली क्षेत्रमा होटल निर्माण, पूर्वाधार विस्तार तथा अन्य विकास निर्माणका लागि हेलिकप्टरमार्फत सामग्री ढुवानी गरिन्छ ।

यही समयमा उच्च हिमाली क्षेत्रमा विरामी उद्धार उडानसमेत हुने भएकाले सञ्चालन क्षमता घट्दा सेवा प्रभावित हुने व्यवसायीहरूको भनाइ छ । नेपालमा स्लिङ अपरेसन सञ्चालन गर्न विशेष उपकरण, तालिमप्राप्त पाइलट तथा प्राविधिक क्षमता आवश्यक पर्ने भएकाले चारवटा हेलिकोप्टर कम्पनी मात्रै यस क्षेत्रमा सक्रिय छन । ती मध्ये हाल सिम्रिक एयर, कैलाश हेलिकप्टर सर्भिसेस र अल्टिच्युड एयरले मुख्य रूपमा उच्च हिमाली क्षेत्रमा स्लिङ अपरेसन सञ्चालन गर्दै आएका छन् ।

वायुसेवा सञ्चालक संघले हालसम्म अपनाइदै आएको सिंगल पाइलट प्रणाली, कडा तालिम, अनुभव र दृश्य मौसमीय अवस्थाको पालना नै पर्याप्त सुरक्षा उपाय भएको दाबी गरेको छ । संघले प्राधिकरणलाई सोमबार पठाएको पत्रमा भनेको छ, ‘हाल लागू गरिएको अनिवार्य डुअल कन्ट्रोल व्यवस्थालाई पुनर्विचार गरी स्लिङ अपरेसनका लागि प्रचलित सिंगल पाइलट व्यवस्था पुनः लागू गरियोस् ।’ हेलिकप्टर व्यवसायीहरूका अनुसार यदि माग सुनुवाइ नभए स्लिङ अपरेसन प्रभावित हुन सक्ने र त्यसको प्रत्यक्ष असर हिमाली क्षेत्रमा हुने निर्माण, ढुवानी तथा उद्धार सेवामा पर्ने भनिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully