छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित हुने पनि सभापति लामिछानेले जनाएका छन् ।
What you should know
काठमाडौँ — रास्वपाले ‘विकास र वैश्विक मञ्चमा जीवन्त उपस्थिति’ मा केन्द्रित परराष्ट्र नीति लिने भएको छ । मंगलबार भरतपुरमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सभापति लामिछानेले नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित– स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, सीमाको सुरक्षा, नागरिकको हकहित तथा आर्थिक समुन्नतिलाई परराष्ट्र नीतिको आधारभूत मार्गदर्शक मान्दै रास्वपा स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितकेन्द्रित परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनको भावना, अन्तर्राष्ट्रिय कानुन तथा विश्वशान्तिका सार्वभौम मान्यताप्रति प्रतिबद्ध रहँदै बदलिँदो विश्व व्यवस्थाको यथार्थलाई समेत आत्मसात् गर्ने सभापति लामिछानेले बताएका छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘हाम्रो दृष्टिमा परराष्ट्र नीति केवल कूटनीतिक सम्बन्ध व्यवस्थापनको विषय होइन, बरु राष्ट्रिय विकास, आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको माध्यम पनि हो । त्यसैले रास्वपाले परम्परागत शक्तिकेन्द्रित कूटनीतिभन्दा विकास कूटनीतिलाई परराष्ट्र नीतिको केन्द्रमा स्थापित गर्ने लक्ष्य राखेको छ ।’
नेपाल भूराजनीतिक दृष्टिले विश्वका दुई उदाउँदा आर्थिक तथा रणनीतिक शक्तिहरू भारत र चीनको बीचमा अवस्थित रहेको उल्लेख गर्दै सभापति लामिछानेले भनेका छन्, ‘यो भौगोलिक अवस्थालाई कमजोरी होइन, अवसरका रूपमा उपयोग गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा रास्वपा विश्वस्त छ । हामी नेपाललाई प्रतिस्पर्धी प्रभाव क्षेत्रको निष्क्रिय मैदान होइन, दक्षिण एसिया र हिमालय क्षेत्रलाई जोड्ने आर्थिक, सांस्कृतिक, व्यापारिक तथा मानवीय सम्पर्कको ‘जीवन्त पुल’ का रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण राख्छौं ।’
छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध पारस्परिक सम्मान, समानता, विश्वास र साझा हितमा आधारित हुने पनि सभापति लामिछानेले जनाएका छन् । उनले अगाडि भनेका छन्, ‘भारत र चीन दुवैसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम गर्दै व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, शिक्षा, प्रविधि तथा क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार हाम्रो प्राथमिकता हो । सीमा व्यवस्थापन, सीमा विवाद तथा ऐतिहासिक सन्धि–सम्झौताका विषयलाई भावनात्मक बहस होइन, तथ्य, प्रमाण, अन्तर्राष्ट्रिय अभ्यास र संस्थागत संवादमार्फत समाधान खोज्न हामी कटिबद्ध छौं ।’
रास्वपा विश्वका सबै मित्रराष्ट्रहरूसँग राष्ट्रिय हित, पारस्परिक लाभ र सार्वभौमिक समानताका आधारमा सम्बन्ध विस्तार गर्ने पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ । ‘कुनै पनि शक्तिकेन्द्रप्रति अनावश्यक झुकाव वा निर्भरता होइन, बरु साझेदारी, रणनीतिक सन्तुलन र स्वायत्त निर्णय क्षमतामार्फत नेपालको अन्तर्राष्ट्रिय भूमिका सुदृढ गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । बदलिँदो विश्व परिवेशमा जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, आपूर्ति शृंखला, प्रविधि शासन, साइबर सुरक्षा र आप्रवासनजस्ता नयाँ अन्तर्राष्ट्रिय मुद्दामा नेपाललाई सक्रिय र प्रभावकारी आवाजका रूपमा स्थापित गर्न हामी प्रतिबद्ध छौं,’ उनले भनेका छन् ।
विश्वभर फैलिएका नेपालीहरू नेपालको सौम्य शक्तिका सबैभन्दा महत्त्वपूर्ण स्रोत रहेको सभापति लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘रास्वपा नेपाली डायस्पोरालाई केवल रेमिट्यान्सको स्रोतका रूपमा होइन, ज्ञान, सीप, नवप्रवर्तन, लगानी, अन्तर्राष्ट्रिय अनुभव र विश्वव्यापी सञ्जालको वाहकका रूपमा हेर्छ । विदेशस्थित नेपालीहरूको बौद्धिक, आर्थिक र सामाजिक पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न विशेष कूटनीतिक तथा नीतिगत संयन्त्र निर्माण हाम्रो प्राथमिकता हुनेछ,’ उनले भनेका छन् ।
गैरआवासीय नेपालीहरूको नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै उनीहरूको ज्ञान, प्रविधि, लगानी र अनुभवलाई राष्ट्रिय समृद्धिको अभियानमा परिचालन गर्न रास्वपाले पुलको काम गर्ने पनि लामिछानेको दाबी छ । उनले अगाडि भनेका छन्, ‘२१ औं शताब्दीको सफल परराष्ट्र नीति केवल सीमाको रक्षा गर्ने नीति होइन । अवसरको खोजी गर्ने, साझेदारी निर्माण गर्ने र विश्वमञ्चमा राष्ट्रको सम्मान तथा प्रभाव विस्तार गर्ने नीति हो ।’
रास्वपाको परराष्ट्र नीति राष्ट्रिय स्वाभिमान र आर्थिक यथार्थवादको संयोजनमा आधारित हुने पनि सभापति लामिछानेको भनाइ छ ।
