संवैधानिक इजलासले बुधबार यसअघि गरिएको दरपीठ सदर गर्ने निर्णय गर्दै विवादमा टुंगो लगाएको हो ।
काठमाडौँ — प्रधानन्यायाधीश नियुक्तिमा वरीयता मिचेर गरिएको निर्णयविरुद्धको रिटको विवाद टुंगोमा पुगेको छ । संवैधानिक इजलासले बुधबार यसअघि गरिएको दरपीठ सदर गर्ने निर्णय गर्दै विवादमा टुंगो लगाएको हो ।
सरकारले चौथो वरफयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरुद्ध अधिवक्ता गीता थापासमेत चार जनाको रिटमा दरपीठ सदर गरेको हो।
प्रधानन्यायाधीश नियुक्तिको विषयमा पेस भएको रिटमा भएको दरपीठ आदेशविरुद्ध बुधबार संवैधानिक इजलासमा पेस भएकोमा दरपीठ आदेश सदर भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालले जानकारी दिए। प्रधानन्यायाधीश शर्मा न्यायाधीशहरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश गरेको हो ।
यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतम वरिष्ठताका आधारमा प्रधानन्यायाधीश सिफारिस गर्ने परपम्परा तोडेर शर्माको नाम सिफारिस गरेको थियो।
२४ वैशाखमा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो । ५ जेठमा संसदीय सुनुवाइबाट अनुमोदन हुँदै प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनै शर्माले बुधबार आफ्नै नेतृत्वको संवैधानिक इजलासबाट विवाद टुंग्याएका हुन् ।
