आठबिसकोटका ३६ जना करार स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

सेवा–सुविधासँग सम्बन्धित विभिन्न माग पालिका समक्ष पेस गरेको तर पूरा नभएको भन्दै उनीहरूले बुधबार नगरपालिकामा सामूहिक राजीनामापत्र बुझाएका हुन् ।

असार १०, २०८३

महेश केसी

36 contracted health workers from Aathbiskot resign en masse

रुकुम पश्चिम — आठबिसकोट नगरपालिकाको नगर अस्पताल र पालिकाअन्तर्गतका आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूले सामुहिक राजीनामा दिएका छन् । सेवा–सुविधासँग सम्बन्धित विभिन्न माग पालिकासमक्ष पेस गरे पनि पूरा नभएको भन्दै उनीहरूले बुधबार नगरपालिकामा सामुहिक राजीनामापत्र बुझाएका हुन् । 

राजीनामा बुझाउनेमध्येका एक कविराम सिर्पालीले असार ३ गतेमा नगरपालिका समक्ष ५ बुँदे माग पेस गरेको तर बेवास्ता गरिएकाले बताए । सरकारको पछिल्लो बजेट भाषणमा उल्लेख भएअनुसारको तलब तथा प्रोत्सहान भत्ता कायम हुनुपर्ने, कार्यालय समयभन्दा बाहेकको समयमा काम गरेबापत अतिरिक्त सुविधा हुनुपर्ने, एउटै दर्जाका कर्मचारीहरूबीचमा हुने असमानताको अन्त्य,  प्रयोगशालाका कर्मचारीहरूलाई जोखिम भत्ता २५ प्रतिशत बढाउनुपर्ने र आफूहरूलाई नागरिक लगानी कोषमा आबद्ध गर्नुपर्ने उनीहरूको माग छ । ‘मागहरू कुनै पनि सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दियौैं,’ सिर्पालीले भने । 

करार स्वास्थ्यकर्मीहरुमध्ये अधिकांश नगर अस्पतालमा कार्यरत् रहेकाले यहाँको सेवा प्रभावित भएको छ । अस्पतालमा अहिले करारबाहेकका कर्मचारीमार्फत बिरामीहरूको उपचार भैरहेको बताइएको छ । 

यस विषयमा आठबिसकोटका नगर प्रमुख रवि केसीले स्वास्थ्यकर्मीहरूले सेवा–सुविधा बढाउने माग गरेको तर आर्थिक स्रोत अभावका कारण तत्काल सम्भावना नरहेका कारण उल्लेखित मागहरु पुरा गर्न सम्भाव नभएको बताए । ‘हामी एकपटक उहाँहरूसँग बसेर छलफल गर्छौं र कसरी अगाडि बढ्न सकिन्छ भनेर निष्कर्षमा पुग्छौं, ’ उनले भने । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully