कतारको ग्यास प्लान्ट विस्फोटमा नेपाली घाइते भएका छन् : कतार

घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन । दुर्घटनामा मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतारी अधिकारीहरूले जनाएका छन् ।

असार ९, २०८३

होम कार्की

Nepalis injured in Qatar gas plant explosion: Qatar

What you should know

काठमाडौँ — कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते भएको जनाएको छ । 

त्यस घटनामा १३ जनाको मृत्यु र ६६ जना घाइते भएको सार्वजनिक भएको थियो । घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन । दुर्घटनामा मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतारी अधिकारीहरूले जनाएका छन् । 

ऊर्जा मामिलासम्बन्धी राज्यमन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद बिन शेरिदा अल-काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा नेपालीसहित कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिक घाइते भएको जानकारी दिएका हुन्। घाइतेमध्ये कसैको अवस्था गम्भीर नरहेको उनले बताए ।

दुर्घटनापछि कतारमा कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे चासो बढिरहेका बेला कतारी अधिकारीहरूले घाइते नेपालीसहित सबै घाइतेको अवस्था स्थिर रहेको बताएका छन् ।

अल-काबीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कतार इनर्जीका अनुसार बरजान प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मतका लागि बन्द थियो । दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो । अल-काबीले घटनालाई सञ्चालनसम्बन्धी दुर्घटना भएको बताउँदै यसमा कुनै तोडफोड वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पारे । ‘कतार इनर्जीको आपत्कालीन उद्धार टोली र कतार सिभिल डिफेन्सले आगोलाई छिट्टै नियन्त्रणमा लिएका थिए,’ उनले भने।

कतार इनर्जीले घटनाबाट एलएनजी उत्पादन केन्द्र, रास लाफान बन्दरगाह, निर्यात प्रणाली तथा अन्य आपूर्ति सञ्जालमा कुनै असर नपरेको जनाएको छ । कम्पनीका अनुसार क्षतिको मूल्याङ्कन तथा अनुसन्धानको काम जारी छ ।

अल-काबीले कतारसँग पर्याप्त ग्यास भण्डार र वैकल्पिक आपूर्ति क्षमता रहेकाले निर्यात तथा आन्तरिक आपूर्तिमा कुनै समस्या नआउने दाबी गरे ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully